प्रधानमन्त्रीज्यू ! नेपालमा एकसय वर्ष अगाडि नै सुरुङमार्ग थियो


 

प्रकाश पौडेल

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार काठमाडौँको नागढुङ्गादेखि धादिङको सिस्नेखोला जोड्ने सुरुङ मार्गको शिलान्यास गरे । २ दशमलव ६ किलोमिटर लामो यो सुरुङ जापानी कम्पनी हाज्मा–आन्द्रो जेभीले निर्माण गर्न लागेको हो । निर्माण सुरू भएको ४२ महिनामा सक्ने भनिएको सुरुङ मार्ग समयमै सकिए नेपालको पहिलो सडक सुरुङ मार्ग हुनेछ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले बताए ।

तर, यो सुरुङ मार्ग नेपालको पहिलो भने होइन । नेपालका एकसय वर्ष अघि नै सुरुङ मार्ग सञ्चालनमा आइसकेको थियो ।

आजभन्दा एकसय २ वर्षअघि चन्द्र शमशेरले शिलान्यास गरेर समयमा नै निर्माण सम्पन्न भएको नेपालको पहिलो सुरुङ मार्ग मकवानपुरको चुरियामाइमा रहेको छ । यो नेपालकै मात्र होइन, दक्षिण एसियाकै पहिलो सुरुङ मार्ग रहेको इतिहासकारहरुले बताउँदै आएका छन् । स्वीस भूगर्भविद् टोनी हेगनले आफ्नो पुस्तक ‘दी हिमालयन किङ्डम अफ नेपाल’ मा पनि यो सुरुङ मार्गबारे चर्चा गरेका छन् । उनले भारतमा पनि त्यस्तो सुरुङ नबनेको अवस्थामा नेपालमा यस्तो सुरुङ मार्ग देख्दा आफू अचम्मित र खुसी भएको कुरा पुस्तकमा उल्लेख गरेका छन् । तर, अहिले सञ्चालनमा भने छैन ।

एसियाकै पहिलो सुरुङ मार्ग नेपालमा

प्रदेश ३ को राजधानी हेटौडाबाट करिब ९ किलोमिटर दक्षिणमा चुरियामाइ मन्दिर छ । त्यहाँको सडक अहिले पनि केही उकालो छ । त्यसैले सडक पीच नगरी कङ्क्रिट मात्रै छ । त्यसकै नजिकमा सय वर्ष अघिको ऐतिहासिक सुरुङ मार्गको भग्नावशेष देख्न सकिन्छ ।

सिभिल इन्जिनियर बिग्रेडियर जनरल डिल्लीजङ्ग थापाले ५ सय मिटर लम्बाईको यो सुरुङ मार्ग डिजाइन गरेका थिए । यो सुरुङ मार्ग ९ फिट चौडा र १० फिट अग्लो छ । यो मानवनिर्मित सुरुङ मार्ग पनि हो ।

अमलेखगञ्जदेखि मकवानपुरको भीमफेदीसम्म बनाइएको सडक मार्गमा चुरे पहाड छिचोल्दै हेटौडा छिर्न सजिलो थिएन । त्यसैले पहाडमा घुमाएर बाटो बनाउनुको साटो सीधा सुरुङमार्ग खनियो र गाडी चलाइयो ।

६ सय ५० मिटरको सुरुङ मार्ग

नेपालमा सुरुङमार्गको प्रयोग भएको सयवर्ष पछि प्रधानमन्त्री ओलीले नेपालको पहिलो सुरुङ मार्ग आफ्नो पालामा भएको गफ दिइरहेका छन् । इतिहासलाई मासेर आफ्नो प्रभुत्व जमाउन खोज्नुले प्रधानमन्त्रीको जिम्मेवारी माथि प्रश्न चिन्ह खडा गरेको छ । प्रधानमन्त्री ओलीले देशको इतिहासका बारेमा त पक्कै पनि हेक्का राखेका होलान् । पहिलो सुरुङ मार्ग संरक्षण गर्ने दायित्व प्रधानमन्त्रीको काँधमा छैन ? कि आफुले शिलान्यास गरेका सबै योजनाहरु पहिलो नै हुने हो ?

लमजुङको मस्र्याङ्दी–७ स्थित साविकको भुलभुले गाविसमा सुरुङ मार्ग रहेको छ । यो सुरुङ मार्ग सडक विभागले निर्माण गरेको होइन । हालै निर्माण सम्पन्न भएको ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत आयोजनाले आफ्नो निर्माणस्थलको पहुँच मार्गका लागि उक्त सुरुङ मार्ग निर्माण गरेको थियो । परियोजना निर्माणाधीन अवस्थादेखि निर्माण सम्पन्न भएपछि पनि बेँसीसहर–चामे सडकको सवारी उक्त सुरुङ मार्ग भएर चल्ने गर्छ । यो सुरुङ मार्गको कुल लम्बाई ३०० मिटर रहेको छ भने सुरुङ मार्गको चौडा ४ दशमलव ५ मिटर रहेको छ । अहिले सुरुङ मार्ग मनाङ जाने यात्रुसहित स्थानीयबासीलाई समेत आवातजावतमा सहज बनेको छ । सुरुङ मार्गलाई सहज बनाउन मस्र्याङ्दी गाउँपालिका–३, साविक खुदी गाविसबाट माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत आयोजनाले मस्र्याङ्दी नदीमा निर्माण भएको मोटरेवल पुल तरेपछि सुरुङको पहुँचमा पुग्न सकिन्छ ।

यतिमात्र होइन, दोलखाको लामाबगर जाने सडकको काभ्रे भीरमा तामाकोशी जलविद्युत् आयोजनाले बनाएको साढे ३ सय मिटरको सुरुङ छ । भीरमा पहिरो गएपछि आयोजनाको मालसामान आपूर्तिमा समस्या परेपछि यो सुरुङ बनाइएको थियो । त्यसबाहेक नेपालमा कलङ्कीमा चीनले जाम नहोस् भनेर बनाइदिएको अन्डर पास पनि अर्को सुरुङ मार्गको प्रयोग भइरहेको नमूना हो ।

२३० किमी सुरुङ निर्माण सम्पन्न

नेपालमा हालसम्म २३० किमी सुरुङ निमाण भइसकेका छन् । सुरुङ मार्ग भने होइनन् । सडकदेखि बाहेक प्रयोजनका लागि निर्माण भएको सुरुङ २३० किमी रहेको छ । नेपालमा ४ सय वर्षअघि अर्गली सिँचाई आयोजनाको लागि १.५ किलोमिटरको सुरुङ निर्माण गरिएको तथ्य फेला परेको छ । तर, त्यसपछिको झण्डै २ सय बर्ष पछाडि अर्थात् सन् १९१७ मा चुरियामा सडकका लागि आधुनिक रुपमा सडकको सुरुङ निर्माण गरिएको थियो । पछिल्लो समयमा मेलम्ची खानेपानी आयोजनाको २७.५ किलोमिटर सुरुङको निर्माण सम्पन्न भएको छ । सन् १९८० मा ६० मेगावाटको कुलेखानी प्रथम, ६९ मेगावाटको मस्र्याङ्दी, ६० मेगावाटको खिम्ती–१, १५ मेगावाटको मोदी खोला, १४४ मेगावाटको कालीगण्डकी लगायतका जलविद्युत आयोजनामा पनि सुरुङ निर्माण कार्य सम्पन्न भएको छ ।

जलविद्युत सिँचाइ लगायतका क्षेत्रका ४० आयोजनाले २ सय किलोमिटर बराबरको सुरुङ निर्माण गरिरहेका छन् । ४० मध्ये भेरीबबई बाहेकका ३९ सुरुङ निर्माण गरिरहेका आयोजना जलविद्युतसँग सम्बन्धित छन् । ३९ मध्ये पनि ३० भन्दा बढी नीजि क्षेत्रले निर्माण गरिरहेका जलविद्युत आयोजना छन् । सुरुङ निर्माणका लागि लामो समय लाग्ने गरेकोमा पछिल्लो समयमा भेरीबबई सिञ्चाई आयोजनामा आधुनिक टनेल बोरिङ मेसिन (टीबीएम) को उपयोग गरिएको छ ।

इतिहास नभुलौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुङ्गादेखि धादिङको सिस्नेखोला जोड्ने सुरुङ मार्ग नेपालको पहिलो सुरुङ मार्ग भनिरहँदा सुरुङ निर्माणको ४ सय बर्षे इतिहासले गिज्जाएको छ । पुर्खाहरुले गरेको योगदानको पनि कदर गर्नुपर्छ । प्रधानमन्त्री केपी ओलीको सोमवारको भाषणले कतै हाम्रो इतिहास त मेटिने होइन भन्ने डर मेरो मनमा सृजना भएको छ । आफ्नो स्वार्थका लागि इतिहास मेट्ने काम कदापी नगरौँ । भलै होला सोमवार गरेको नागढुङ्गादेखि धादिङको सिस्नेखोला जोड्ने सुरुङ मार्गको शिलान्यास नयाँ प्रविधिमा पहिलो हुनसक्छ । तर, हेक्का रहोस् आजभन्दा १०० बर्ष अगाडि नै दक्षिण एसियामै पहिलो पटक नेपालमै सुरुङ मार्गबाट यातायात सञ्चालनमा आएको थियो ।
(सरकारी तथ्याङ्क तथा विभिन्न एजेन्सीको सहयोगमा ।)

लेखक प्रकाश पौडेल लामो समयदेखि झापामा बसेर पत्रकारिता गर्दै आइरहेका छन् ।

प्रकाशित भएको : October 23rd, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु