राष्ट्रपतिद्वारा सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्त


 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सिफारिस गरेका प्रदेश प्रमुखहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६३ को उपधारा २ बमोजिम नियुक्त गरेकी हुन् ।

सोमबार सरकारले सातवटै प्रदेश प्रमुखको नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले दिएको सुझावको आधारमा प्रदेश प्रमुखहरुको नामावली राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

नियुक्त हुनेमा प्रदेश एकमा सोमनाथ अधिकारी प्यासी रहेका छन् भने प्रदेश दुईमा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश पाँचमा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कनौली र सुदूरपश्चिम प्रदेशमा शर्मिला त्रिपाठी रहेका छन् ।

प्रदेश १– सोमनाथ अधिकारी ‘प्यासी’

प्रदेश २– तिलक परियार

प्रदेश ३– विष्णु प्रसाईं

गण्डकी प्रदेश – अमिक शेरचन

प्रदेश ५– धर्मनाथ यादव

कर्णाली प्रदेश– गोविन्द कलौनी

सुदूरपश्चिम प्रदेश– शर्मिला पन्त त्रिपाठी

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज बसेको सचिवालय बैठले सातै प्रदेशका प्रमुखको नाम टुंगो लगाएको थियो।

७ प्रदेशका लागि पूर्व नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले क्रमशः ४ र ३ स्थानमा भागबण्डा गरेका थिए। विष्णु प्रसाईं, सोमनाथ अधिकारी ‘प्यासी’, धर्मनाथ यादव र गोविन्द कलौनी पूर्व एमालेका नेताहरु हुन्। त्यस्तै, अमिक शेरचन, तिकल परियार र शर्मिला पन्त त्रिपाठी पूर्व माओवादीका हुन्।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेको थियो । सातै प्रदेशका प्रदेश प्रमुख एकाएक बिनाकारण पदमुक्त गरिएपछि चौतर्फी सरकारको आलोचनासमेत भएको थियो ।

 

अन्तिम पटक अपडेट गरिएको : February 5th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु