यी ३ राशिका लागि बबाल राम्रो छ साउन महिना, तपाईको राशि कुन हो ?


 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कर्कट राशि हुनेहरूका लागि श्रावण ०१ गतेका दिन सूर्यले राशि सङ्क्रमण गर्दा आफ्नै राशिमा मङ्गलका साथमा सूर्य, पञ्चम भावमा बृहस्पति, षष्ठ भावमा शनिश्चर र केतु, सप्तम भावमा राशिस्वामी चन्द्र तथा बाह्रौं भावमा बुध, शुक्र र राहु ग्रहको उपस्थिति देखिन्छ।

यस महिनाको ०६ गते बिहान शुक्र ग्रहले लग्न भावमा र ३० गते द्वितीय भावमा प्रवेश गर्नेछ, त्यस्तै १८ गते बुध ग्रहले पनि लग्न भावमा र २५ गते मंगल ग्रहले द्वितीय भावमा प्रवेश गरी स्थान परिवर्तन गर्नेछन्। पञ्चम भावको बृहस्पति, षष्ठ भावको शनि र द्वादश भावको बुध महिनाको सुरुमा यी तीनवटै ग्रह बक्र अवस्थामा रहने देखिन्छ।

आफ्नै राशिमा पुगेको धनभावको मालिक सूर्य र लग्न स्थान तथा धन भावमा विचरण गर्ने पञ्चमेश मंगल ग्रहको संयुक्त प्रभावले यो महिना शुभ बनाएको छ । अचानक कुनै नचिताएको धनलाभ हुनसक्ने समय छ, त्यस्तै तपाईं कुनै पद, प्रतिष्ठा वा परीक्षाका लागि तैयारी गर्दै हुनुहुन्छ आशावादी बन्दै परिश्रम गर्नुहोस्, विजयश्री तपाईंको पोल्टामा पर्नेछ, खासगरी छात्रछात्राले वा गृहस्थीले सन्ततिका माध्यमबाट लाभ पाउने समय छ।

यस अवधिमा धनसम्पत्ति र सुखसुविधा आर्जन गर्ने पक्षमा आकर्षित रहनुहुनेछ । आत्मविश्वासको सिर्जना हुनेछ, तर तपाईमा अहंकार र आडम्बरको भावना पनि विकसित हुनसक्छ, सुरुमा शिरमा र महिनाको अन्त्यतिर मंगल ग्रहको वास हुनेछ, प्याच्च बोल्ने बानीले दुःख पाउन सकिन्छ, कुटुम्ब वा चेलीबेटीको चित्त नबुझ्नसक्छ, स्वास्थ्यस्थितिमा उतारचढाव आइरहने छ।

त्यस्तै महिनाको सुरुमैं पञ्चम भावमा भाग्येश बृहस्पति र सप्तमेश शनिश्चर ग्रह बक्री हुने भएकाले पति वा पत्नी अस्वस्थ हुने सम्भावना समेत छ, धनमाल हराउनेरचोरी हुने सङ्केत पनि छ, होस राख्नुपर्छ । यो महिना कर्कट राशिका विद्यार्थी, गृहिणी र व्यापारीहरूले शुभफल पाउने छन् । तर कर्मचारीहरूका लागि त्यति अनुकूलता प्राप्त हुँदैन । छात्रछात्राले परीक्षा, प्रतियोगितामा राम्रो परिणाम प्राप्त गर्नेछन् । व्यक्तित्वविकास र प्रतिष्ठा प्राप्तिका लागि गरिएको प्रयास सफल हुनेछ । कुनै विशेष समारोहमा सम्मानित हुने अवसर मिल्नेछ ।

सुरुमा राशिस्वामी चन्द्रमा सप्तम भावमा रहेकाले गृहिणीहरूले आफैंले वा पतिले कार्यक्षेत्रमा प्रगति गरेको मानसम्मान पाएको वा बढुवा भएको समाचार सुन्न पाउनु हुनेछ, चलअचल सम्पत्ति जोड्ने, पुरानो लेनदेन मिलाउने समय छ, त्यस्तै छोराछोरीले आफ्नो कार्यक्षेत्रमा राम्रो उन्नति गर्नेछन् । व्यापारीहरूले कारोबार विस्तारका लागि गरेको प्रयास सफल हुनेछ, तर कर्मेश मङ्गल नीच रहेकाले कर्मचारीले जोखिमपूर्ण काम गरेमा पदलाई नै आघात पुग्ने परिणाम आउनसक्छ होस राख्नुपर्छ ।

यो महिना ग्रहपरिवेशमा देखिएको कमजोरीलाई व्यवस्थित तुल्याउन तपाईंले भाग्येश वृहस्पतिको अनुकूलताका लागि हरेक बिहीवारका दिन गाईलाई मौसमअनुसार कुनै पाकेको फल प्रदान गर्नु राम्रो हुन्छ, साथै इष्टदेवताको नित्यपूजापछि पहेंलो केशरी वा अष्टगन्धको टीका लगाएमा शुभफल प्राप्तिमा कठिनाइ हुनेछैन । सामान्यतया यस महिनाको ०३, ०४, ०५, १३, १४, १५, २१, २२, २३ र ३१ गते तपाईंको राशिस्वामी चन्द्रमाले अशुभ घरको यात्रा गर्ने समय रहने छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि हुनेहरूका लागि श्रावण ०१ गतेका दिन सूर्यले राशि सङ्क्रमण गर्दा तृतीय भावमा बृहस्पति, चतुर्थ भावमा शनिश्चर र केतु, पञ्चम भावमा चन्द्र, दशम भावमा राशिस्वामी बुध, शुक्र र राहु तथा एकादश भावमा मङ्गलका साथमा सूर्य ग्रहको उपस्थिति देखिन्छ । यस महिनाको ०६ गते बिहान शुक्र ग्रहले एकादश भावमा र ३० गते द्वादश भावमा प्रवेश गर्नेछ, त्यस्तै १८ गते राशिस्वामी बुध ग्रहले पनि एकादश भावमा र २५ गते मंगल ग्रहले द्वादश भावमा प्रवेश गरी स्थान परिवर्तन गर्नेछन् ।

तृतीय भावको बृहस्पति, चतुर्थ भावको शनि र दशम भावको बुध महिनाको सुरुमा यी तीनवटै ग्रह बक्र अवस्थामा रहने देखिन्छ, सुरुमा बक्र र अस्त अवस्थामा रहेको राशिस्वामी बुध ०७ गते पछि उदाउने र ०९ गतेपछि मार्गगतिमा रहने सङ्केत छ । राज्यस्थानको सूर्य र कर्म एवं राज्यस्थानको राशिस्वामी बुधको प्रभाव रहने महिना भएकाले यो महिना तपाईंका लागि अत्यन्त लाभकारी महिना नै हुनेछ । श्रावण महिना तपाईंका इच्छा र आकाङ्क्षा पूर्ण गराउने महिनाका रूपमा उदाएको छ । तर व्ययेश लाभ स्थानमा आएकाले पेसामा अचानक परिवर्तन हुने, ठाउँ छाड्नु पर्ने परिस्थिति पनि बन्नसक्छ ।

घरायसी परिबन्द वा बाध्यात्मक काममा खर्चको मात्रामा नियन्त्रण गर्न सकिंदैन, अरुले गरेको अनुत्तरदायी क्रियाकलाप र असफलताका कारण चिन्तित बन्नुपर्ने छ । उता ०७ गतेसम्म कर्मक्षेत्रमा अस्तावस्थामा बुध ग्रह रहेको हुँदा गृहस्थी जीवन र प्रेमसम्बन्धमा झंझट वा विवादबाट जोगिनु बेस हुनेछ । समग्रतामा नराम्रो समय छैन, तर पनि विशेष काममा वा धनलगानी गर्ने दीर्घकालिक कारोबारका क्रममा निर्णय लिनुअघि जान्नेबुझ्नेसँग परामर्श गरेको जाति हुन्छ।

बृहस्पति ग्रह पराक्रम स्थानमा रहेकाले यो महिना कन्या राशिका छात्रछात्राहरूले गरेको मिहिनेतभन्दा राम्रो परिणाम प्राप्त गर्नेछन्, अनायासै उपहार, पुरस्कार वा चिट्ठाको अवसर मिल्ने हुँदा छात्रवृत्ति वा शोधका लागि प्रयास गर्ने समय हो । तर सप्तमेश बक्र गतिमा भएकाले गृहिणी र व्यापारीहरूले अनावश्यक तनाव र बोझ बढेको महसुस गर्नुपर्ने हुन्छ। गृहिणीहरूले घरका बृद्ध सदस्यहरूको सेवाचाकरी गर्नुपर्ने र आफ्नै पाचनप्रणालीमा आएको विकार झेल्नुपर्ने समय छ। पतिसँग नोकझोक परिरहने र आर्थिक संकटको सामना गर्नुपर्ने हुन्छ । व्यापारीहरूको घरभित्र विविध समस्या सिर्जना हुनाले व्यवसायमा ध्यानकेन्द्रित हुनसक्दैन ।

पुर्ख्यौली सम्पत्ति वा जग्गाजमिनमा किचलो आउँदा अड्डाअदालत धाउने परिस्थितिसमेत बन्नेछ । कर्मचारीका लागि कर्मेश र लग्नेश बुधको अस्तताका कारण कार्यक्षेत्रमा बोझ बढ्ने छ, पेसा वा रोजगारीका कारण घरव्यवहारमा समय दिन नसक्नाले अनावश्यक व्ययभार थपिन सक्छ ।

यस महिनामा देखिने अशुभ पक्षको निवारण होस् भन्ने उद्देश्यले पतिपत्नीका बीचमा सरसल्लाह र भलाकुसारी भएको राम्रो हुन्छ, त्यसका लागि तपाईंले कुलपितृको आशीर्वाद ग्रहण गर्ने र लग्नेश बुधको बलप्राप्तिका लागि हरेक बुधवार वा अष्टमी तिथिका दिन माता दुर्गाको उपासना गर्नु राम्रो हुन्छ। सामान्यतया यस महिनाको ०८, ०९, १०, १७, १८, १९, २६, २७ र २८ गते तपाईंको राशिबाट अशुभ गृहमा चन्द्रमाको उपस्थिति रहने देखिन्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशि हुनेहरूका लागि श्रावण ०१ गतेका दिन सूर्यले राशि सङ्क्रमण गर्दा लग्न भावमा शनिश्चर र केतु, द्वितीय भावमा चन्द्रमा, सप्तम भावमा बुध, शुक्र र राहु, अष्टम भावमा मङ्गलका साथमा सूर्य तथा द्वादश भावमा राशिस्वामी बृहस्पति ग्रहको उपस्थिति देखिन्छ ।

यस महिनाको ०६ गते बिहान शुक्र ग्रहले अष्टम भावमा र ३० गते नवम भावमा प्रवेश गर्नेछ, त्यस्तै १८ गते बुध ग्रहले पनि अष्टम भावमा र २५ गते मंगल ग्रहले नवम भावमा प्रवेश गरी स्थान परिवर्तन गर्नेछन् । लग्न भावको शनि, सप्तम भावको बुध र द्वादश भावको राशिस्वामी बृहस्पति महिनाको सुरुमा यी तीनवटै ग्रह बक्र अवस्थामा रहने देखिन्छ । यस महिनाको अन्त्यतिर २९ गतेका दिन राशिस्वामी बृहस्पतिले मार्गगति अवलम्बन गर्ने सङ्केत छ ।

प्रारम्भमा अष्टम भावमा रहेको सूर्य र द्वादश भावमा बसेको राशिस्वामी बृहस्पतिको बक्रता र आफ्नै राशिमा रहेको बक्र शनिको मध्य साढेसातीको प्रभाव रहने हुँदा श्रावण महिना त्यति सन्तोषजनक रहँदैन । त्यस्तै बाह्रौं भावमा रहेको बक्री बृहस्पति र लग्नमा बसेको शनिको प्रभावका कारण पारिवारिक विवादमा संयमता अपनाउनु राम्रो हुन्छ, किनभने मानसिक अशान्ति र बेचैनीको योग छ, नातागोताभित्रका सदस्यहरूसँग राम्रो व्यवहार पुर्याउन नसक्नाले विनाकारण झगडा र विवाद हुनेछ ।

भाग्येश सूर्यको सङ्कट क्षेत्रमा प्रवेश भएकाले शङ्कास्पद कारोबार र क्रियाकलाप सहभागी नबन्नु राम्रो हुनेछ, महत्त्वपूर्ण कागजातमा हस्ताक्षर गर्नुअघि राम्ररी पढ्नु बेस होला । धनु राशिका छात्रछात्राले घरपरिवारका काममा बढी समय खर्चनु पर्ने भएकाले पढाइलेखाइमा समय दिन पाउँदैनन् । त्यस्तै उमेर पुगेका छात्रछात्रामा विपरीतलिंगी साथीको क्रियाकलापले मानसिक खिन्नता बढ्ने समय छ । त्यसैले पढाइलेखाइमा उन्नतिका लागि अलि बढी मिहिनेत र लगनशीलताको खाँचो देखिन्छ । यो महिना गृहिणीहरूका लागि शुभ समय छ, पतिपत्नीका बीचमा सुमधुर सम्बन्ध कायम हुनेछ । टाढा बसेका जीवनसाथीले घर आउने मौका पाउने छन् वा राम्रो आर्थिक लाभ प्राप्त गरेको समाचार सुन्न पाइने छ ।

तर महिनाको उत्तरार्द्धमा जीवनसाथीको स्वास्थ्यमा सामान्य समस्या देखिनसक्छन् । व्यापारीहरूले व्यवसाय प्रवर्द्धनका लागि देशपरदेशको भ्रमण गर्नुहुनेछ । नयाँ कारोबारमा धननिवेश गर्ने सोच आउने छ । कर्मचारीहरूका लागि यो महिना जोखिमपूर्ण देखिन्छ । लग्नेश द्वादश भावमा बक्रगतिमा रहेको र लग्नभावमा नै केतु र शनिको युति भएकाले चोरबुद्धिको प्रयोग नगर्नु होला, नत्र ठूलो झमेलामा फँस्न सक्नुहुन्छ ।

तपाईंले यस महिना हुने हरेक गतिविधिमा शुभता प्राप्त होस् भन्ने उद्देश्यले हरेक बिहीवारका दिन गाईलाई हरियो घाँस खानदिनु राम्रो हुन्छ, अझ आठौं भाव दुर्घटनाकारक भाव भएकाले र त्यहाँ महिनाको सुरुमा नै मासाधिपति सूर्यको उपस्थिति हुने एवं २५ गतेसम्म पञ्चमेश मङ्गलको समेत उपस्थिति हुने हुँदा यो महिना सवारी हाँक्दा, बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा अत्यन्त सावधान हुनु राम्रो हुन्छ । सामान्यतया यस महिनाको ०६, ०७, ०८, १५, १६, १७, २४ र २५ गतेको चन्द्रमा तपाईंका लागि प्रतिकूल रहने सङ्केत छ ।

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु