प्रकृतिको खुट्टा काटिनु परेपछि आमाले रुँदै भनिन,’मेरो छोरीलाई अपांग भनेर कसैले हेला नगरोस्’


 

काठमाडौं । ‘मेरो छोरीलाई अपांग भनेर कसैले हेला नगरोस्…’ गहभरी छचल्किएको आशुँ पुछ्दै बोलिन्, ‘म चाहन्छु… हामी मरेपछि उस्ले अपांग भएकै कारण घृणा सहेर बाँच्नु नपरोस्…।’
बोल्दा बोल्दै उनी भक्कानिइन् । आशुँ पुछ्दै भुईतिर हेरिन् । अनि सुक्क सुक्कसुक्क गर्दै रुन थालिन् । केही छिन टोलाउँदै बोलिन्, ‘एउटा खुट्टा त बचाउन सकिएला कि भन्ने आशा थियो, तर त्यो पनि सकिएन्..अब जिन्दगीभरि ‘ठुटे खुट्टा’ लिएर हिँड्ने भइन् ।’ त्यसपछि त्यहाँ सन्नाटा छायो । न उनी केही बोल्न सकिन्, न आशुँ रोक्न नै ।

गएको तीन दिन यता उनको अवस्था उस्तै छ । आफ्नै छोरीको अनुहार हेर्न सकेकी छैनन् । छोरीको हविगत देखि डर लागेको छ । आफैं सम्हालिन नसकेको अवस्थामा छोरीलाई कसरी सम्हाल्ने ? सोचेरै हैरान भएकी छिन् ।

भगवतीले छोरीको भविष्य अन्धकार बाहेक केही देखेकी छैनन् । छोरीको नजिक गएर बस्न पनि नसकेको भन्दै भक्कानिन्छिन् । के गर्ने कसो गर्ने केही सोच आएको छैन् । भगवान भरोसामा रहेको भन्दै कामना गरिरहन्छिन्।

‘१२ वर्षे बच्चीको खुट्टा माथि ट्रक कुद्दा कति दुख्यो होला… ? कति छटपटाइ होली.. बचाउ.. बचाउ.. भन्दै कति जिन्दगीको भिख मागी होली’ भक्कानिँदै भन्छिन्, ‘तर.. त्यो पापीले मेरो छोरीको खुट्टा माथि ट्रक चलायो…।’

फेरि सन्नाटा..।

उनी हुन् भगवती शाही । कोहलपुर एनटीभी रोडकी ११ वर्षीया प्रकृति चन्दकी आमा । प्रकृति २ दिनदेखि बि एण्ड बी अस्पतालको आईसीयूमा छिन् । उनलाई गत आइतबार विद्यालय जाने क्रममा ट्रकले ठक्कर दिएको थियो । त्यस दिन यता उनको जिन्दगीमा धेरै उथलपुथल भएको छ, जसबारे प्रकृति भने अनविज्ञ छिन् । उनलाई दुबै खुट्टा गुमेको पनि थाहा छैन । बी एण्ड बी अस्पतालको आईसीयूमा उपचार गराइरहेकी रहेकी प्रकृतिको अहिले होस आएको छ ।

आफूलाई अस्पतालमा पाउँदा उदास छिन् ।

‘आमा मलाई के भएको छ ?

‘मेरो खुट्टा दुखिरहेको छ त…।’

‘हात पनि दुखेको छ..।’

‘मेरो झोला खोइ..?’

‘मेरो स्कुल छुट्यो है…।’

आज बिहान मात्रै प्रकृतिले आमासँग यस्तै गनथन गरिन् । तर छोरीलाई वास्तविकता बताउन नसकेकी भगवती आफैं सम्हालिन सकेकी छैनन् ।
छोरीले खुट्टा नभएको थाहा पाउँदा कति रुन्छे होली भन्ने सोचेर दिक्क छिन् । एक्कासी खुट्टा नभएको थाहा पाउँदा छोरी ‘कोमा’मा जाली कि भन्ने डर छ । यस्तै कुराहरु सोचेर रातभरी निदाउन नसकेको बताउँदै भन्छिन्, ‘बिस्तारै आफैंले थाहा पाउँली कि… त्यो बेला कसरी सम्हाल्ने भन्ने चिन्ता लागेको छ ।’ आइतबारको दिन भगवती पसलमा थिइन् । चिया पकाइरहेको बेला पसल अघि एउटा ‘अटो’ रोकियो ।

अत्तालिदै उनका श्रीमान अटोबाट झरेर भने, ‘तन्दा ले त तन्दा…।’ उनी तन्दा लिएर अटोमा पुगिन् । अटो पुरै रक्ताम्य थियो । रगतले लतपतिएको ठाउँमा हेर्दा आफ्नै छोरी प्रकृती बेहोश थिइन् । एउटा खुट्टा तुर्लुङग झुण्डिएको थियो । अर्को खुट्टा ठुटे । त्यो देख्नासाथ उनी बेहोश भइन् । रक्ताम्य छोरीलाई अटोमा राखेर उनका श्रीमान अस्पताल कुदे ।

होसमा आएपछि भगवतीले बिहानसम्म घरमा यता त्यता गरिरहेकी छोरीको अवोध अनुहार सम्झिइन् । पछिल्लो पटक अटोमा देखेको छोरीको विभत्स अवस्था आँखाभरि नाच्न थाले । छोरीले देखेको सपना सम्झिइन् । छोरीप्रति आफूले देखेको सपना सम्झिइन् । मन त्यसै भक्कानियो अनि रुदै अस्पताल पुगिन् ।

अस्पताल पुर्याउँदा प्रकृतिको शरीरमा रगतको मात्रा एकदम कम थियो। तुरुन्रत गत चढाइयो । अस्पतालले लगत्तै काठमाडौँ रिफर गर्यो । काठमाडौँमा ल्याएपछि डाक्टरले भने, ‘सरी हामी प्रकृतिको अर्को खुट्टा पनि बचाउन सक्दैनौं । काटेर फ्याक्नुपर्छ ।’

अपरेशनपछि प्रकृतिलाई रगत र सेता प्लेटलेट्सहरु दिने क्रम चलिरहेको छ । हरेक दिन ब्याण्डेज गर्नुपर्छ । अनिश्चितकालका लागि अस्पताल राख्नुपर्ने चिकित्सकहरुले बताइरहेका छन् । ‘आधा उमेर मात्रै भएकी भए केही थिएन, तर बच्चामै खुट्टा गुम्यो’ भक्कानिँदै भन्छिन्, ‘जिन्दगी भरी घृणा सहेर बाँच्नु पर्छ यसले..।’
यो समाचार सागर बुढाथोकीले अनलाइन खबरमा लेखेका छन।

प्रकाशित भएको : December 12th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु