नेकपामा उथलपुथल, तत्कालीन एमाले र माओवादी दुवैतर्फ चर्काे विवाद


 

राजविराज– जिल्ला कमिटी गठन भएको करिब १ महिनापछि नेकपा सप्तरीमा उथलपुथल सुरु भएको छ। योग्यता नै नपुगेका व्यक्तिलाई जिल्ला कमिटीमा ल्याइएको र पार्टीका लागि योगदान दिएकालाई पाखा लगाएको भन्दै नेता कार्यकर्ताबीच विवाद सुरु भएको हो।

जिल्ला कमिटी गठनप्रति तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र दुवैतर्फका नेतारकार्यकर्ताहरु असन्तुष्ट देखिएका छन्।

तत्कालीन माओवादी केन्द्रका असन्तुष्ट केही नेता कार्यकर्ताले आइतबार राजविराजमा पत्रकार सम्मेलन गरेरै असन्तुष्टि व्यक्ति गरे।

कुल १ सय ६५ सदस्यीय कमिटीमा तत्कालीन नेकपा एमालेका तर्फबाट सचिवसहित ८४ र माओवादी केन्द्रका तर्फबाट अध्यक्षसहित ८१ सदस्य छन्।

पत्रकार सम्मेलनमा नेकपाका प्रदेश कमिटी सदस्यद्वय देवनाथ यादव र भागवत यादवले जिल्ला कमिटी गठन गर्दा सप्तरीका सिनियर नेता तथा जनयुद्धको क्रममा जेल, नेल र यातना भोगेकाहरुलाई पाखा लगाइएको आरोप लगाए।

भूमिगत कालदेखि पार्टीमा सक्रिय रहेका देवराम यादव, गोपाल गुप्ता, पवन यादव, उमेश मण्डल, ज्ञानेन्द्र घिमिरे, वलवहादुर महतो, सहिद पत्नि कविता ठाकुर, दानालाल चौधरी लगायतका महत्वपूर्ण नेताहरू कमिटीमा नल्याई पार्टीको सदस्य नै नभएका र नीति र सिद्धान्त नै नबुझेका माला कर्ण, राहुल मण्डलसहित एक दर्जनभन्दा बढीलाई कमिटीमा ल्याइएको उनीहरूको आरोप छ।

‘पार्टीको गुटगत स्वार्थबाट प्रेरित भएर पुराना नेताको राजनीतिक करिअर हत्या गर्ने प्रयास भएको छ,’ यादवले भने, ‘हामी उनीहरूलाई न्याय दिलाउन र पार्टीको वर्चश्व कायम राख्न प्रयास गरिरहेका छौं। हाम्रो माग सुनुवाइ नभए आन्तरिक संघर्ष गर्न पनि तयार छौं।’

जिल्ला कमिटी पुनर्गठनका लागि प्रदेश इन्चार्ज प्रभु साह, सहइन्चार्ज विश्वनाथ साह तथा केन्द्रीय कमिटीमा समेत निवेदन दर्ता गराइएको उनीहरूले जानारी दिए। ‘पार्टी गलत प्रकृयाबाट संचालन भइरहेको हामीलाई आभास भएको छ,’ भागवत यादवले भने, ‘यो प्रकृयाले अन्तरविरोध वढाउने र जनाधार गुमाउने काम गर्नेछ।’

अन्तरविरोधकै कारण २ सिट जितेको एमाले र ३ सिट जितेको माओवादी केन्द्र सप्तरीमा शून्य अवस्थामा पुगेकाले उनले नेतृत्वलाई सचेत समेत गराए।

तत्कालीन एमालेमा पनि उस्तै

जिल्ला कमिटीमा सचिवसहित ८४ जना पाएको तत्कालीन एमाले पनि भित्रभित्रै असन्तुष्टि सुरु भएको छ।

जिल्ला कमिटीको उपाध्यक्ष समेत बनेका अब्दुल मजिद शाकिर, जिल्ला कमिटी सदस्य राजेन्द्र साहसहित करिब २० जना सदस्य छाँटिएको र करिब १० जना मापदण्ड नै नपुगेका नयाँ अनुहार समितिमा छिराइएको उनीहरूको भनाइ छ।

जिल्ला कमिटी पुनर्गठन नगरिए सपथ ग्रहण नै बहिष्कार गर्ने अब्दुल मजिद साकिर नेतृत्वको समुहले चेतावनी दिएको छन्। पार्टी श्रोतका अनुसार कमिटीमा नअटाएका पुराना नेता माधव नेपाल गुटका र नयाँ अनुहारहरु केपी ओली गुटका हुन्। यो खबर नेपाल लाइभमा प्रकाशित छ ।

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु