दीलिपकी छोरी दिब्याले ‘लक्का जवान’ नगर्ने पक्का


 

अभिनेता दीलिप रायमाझीकी छोरी दिव्याले हास्यकलाकार शिवहरी पौडेलले निर्देशनमा डेब्यू गर्न लागेको चलचित्र ‘लक्का जवान’ बाट डेब्यू नगर्ने भएकी छन् । केही समयदेखि यो चलचित्रमा उनले काम गर्न लागेको चर्चा चलेको थियो । तर, अध्ययनका कारण दिव्याले तत्काल फिल्म नगर्ने भएकी छन् ।

दीलिप रायमाझी र किरण केसी सह-निर्माता रहेको चलचित्रमा दिव्यालाई लिन आफूले पहल गरेता पनि अध्ययन पूरा नभएका कारण सम्भव नभएको शिवहरीले बताएका छन् । उनी भन्छन्, ‘हो, हामीले दिव्यालाई चलचित्रमा डेब्यू गराउन खोजेका थियौं । तर, उनको अध्ययन पूरा हुन अझै एक वर्ष लाग्ने रहेछ । अध्ययनका कारण समय निकाल्न नसक्ने भएपछि उनले चलचित्र नगर्ने पक्का भइसकेको छ ।’

दिव्या केही वर्षयता अमेरिकामा अध्ययन गर्दै आइरहेकी छन् । चलचित्रमा डेब्यू नगर्दै उनको सुन्दरताको फिल्म क्षेत्रमा चर्चा सुरु भएको छ । उनका क्यूट तश्विरहरु अहिले सामाजिक सञ्जालमा निकै छाएका छन् । उनलाई फिल्ममा ल्याउन चलचित्रकर्मीले दीलिपलाई पनि आग्रह गरिरहेका छन् । दिव्या पनि चलचित्रमा काम गर्न इच्छुक रहेको बताइएको छ । तर, तत्कालका लागि अध्ययन बाधक बनेको छ ।

‘लक्का जवान’ मा दीलिप स्वयंको प्रमुख भूमिका रहनेछ । चलचित्रमा अभिनेत्री प्रियंका कार्की अनुबन्ध भइसकेकी छन् । शिवहरीका अनुसार, चलचित्रका लागि अझै एक नायक र एक नायिकाको आवश्यकता छ । आमा बंगालमुखी फिल्म प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्रमा ध्रुव पन्त र अनुसुया श्रेष्ठ पन्तको लगानी रहनेछ । चलचित्र कमेडी प्रधान हुने बताइएको छ ।

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु