भारतले नेपाललाई दिने अनुदान घटायो, दक्षिण एशियाका अन्य मुलुकलाई बढायो


 

नयाँ दिल्ली : भारत सरकारले नेपाललाई दिदैँ आएको अनुदान सहयोग घटाएको छ।

शनिबार भारत सरकारका केन्द्रिय वित्त मन्त्री निर्मला सीतारमणले प्रस्तुत गरेको आर्थिक वर्ष २०२०/२१ को बजेटमा छिमेकी मुलुकहरुलाई दिइने अनुदान सहयोग शीर्षक अन्तर्गत नेपाललाई दिइने रकम घटाइएको हो।

गत वर्षको तुलनामा आर्थिक वर्ष २०२०/२१ मा ४ अर्ब घटाएर यो रकम ८ अर्ब पुर्‍याइएको छ। गत वर्ष सो रकम १२ अर्ब रहेको थियो। दक्षिण एशियाली मुलुकहरु मध्ये नेपाललाइ दिइने रकम सबैभन्दा बढि घटाइएको हो।

नेपाललाइ दिने सहयोग तीन वर्षदेखि लगातार बढाउँदै आएको भारत सरकारले यो वर्ष सहयोग ह्वात्तै घटाएको छ।

सो सहयोग घटाउनुका पछाडि विभिन्न कारणहरु रहको विश्लेषण गरिएको छ।

तुलनात्मक रुपमा भारतले दिँदै आएको अनुदान सहयोगमा निर्माण सम्पन्न भएका तथा निर्माणाधिन परियोजनाहरुको प्रगतिको तुलनामा द्धिपक्षिय सम्झौतामार्फत भएका अन्य लगानीका परियोजनाहरुमा उत्साहजनक प्रगति देखिएको भारतीय पक्षको बुझाइ रहेको छ। अर्कोतर्फ अनुदान सहयोगमा निर्माण गरिएका परियोजनाहरुमा वित्तिय पारदर्शीताको अभाव पनि भारतीय पक्षलाई खटकिएको बुझिएको छ।

भारत सरकारले प्रतिवद्धता जनाएको सहयोग पूर्ण उपयोग हुन नसक्नु र २०१५ को भुकम्पपछि पुर्ननिर्माणमा जनाएको प्रतिवद्धतापछि सो परियोजना सकिन लागेको हुँदा एउटा मुख्य कम्पोनेन्ट नै घटनुले पनि यो अनुदान घटाइएको हुन सक्ने एकथरीको तर्क रहेको छ। भारतले भुटान, बंगलादेशलाइ गर्दै आएको सहयोगमा थोरै भएपनि वृद्धि गरेको छ भने अफगानिस्तानको सहयोग अघिल्लो वर्ष सरह नै छुटयाएको छ। पछिल्लो समय चीनको लगानीप्रति नेपालको बढदो आकर्षणप्रति भारतीय पक्षको ‘रिजर्भेसन’ रहेको विश्लेषण भइरहेको छ।

प्रकाशित भएको : February 1st, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु