वीर अस्पतालको बेहाल, कर्मचारी नै बिगार्छन् मेसिन


 

एमआरआई मेसिन उद्घाटन गरेर मन्त्रालय पुगेका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले भोलिपल्ट मेसिन बिग्रेको खबर पाए। पर्सिपल्ट थाहा पाए, ‘मेसिन बिग्रेको होइन। बिगारिएको हो।’

अस्पतालबाट भइरहेको सेवा प्रवाहप्रति मन्त्री यादवले असन्तुष्टि जनाए। अस्पतालमा आइतबार आयोजित कार्यक्रममा उनले भने, ‘त्यही मेसिन सरकारीमा तुरुन्तै बिग्रने। निजीमा वर्षौंसम्म चल्ने। उपचारका लागि आएका बिरामीलाई निजीमा पठाउने धन्दा बन्द हुनुपर्छ।

प्राविधिकले उपकरण चलाउन नसक्ने र कर्मचारीले बिगार्ने हो भने पब्लिक प्राइभेट पार्टनरसिपमा जान सक्छौं।’ जनताको करले सञ्चालित अस्पतलाको सम्मान गर्न स्वास्थ्यमन्त्री यादवले आग्रह गरे।

मुलुकको ऐतिहासिक अस्पतालले १३० औं वार्षिकोत्सवको मनाइरहेका बेला सेवाग्राहीको असन्तुष्टि मन्त्री यादवको भन्दा बढी छ। अस्पतालले २४ घण्टे फार्मेसी सेवा उपलब्ध गराउन सकेको छैन ।

उपकरण बिग्रिने रोग

वीर अस्पतालमा हरेक वर्ष महँगोमा उपकरण खरिद हुन्छ। तर केही महिनापछि बिग्रन्छ। उपचार गर्न आएका बिरामीलाई चिकित्सक एवं प्राविधिकले नजिकको निजी अस्पतालमा रेफर गर्छन्। कमिसन लिन्छन्।

नक्सालस्थित एक उपचार केन्द्रका सञ्चालक भन्छन्, ‘सिफारिस लिएर आएका बिरामीबाट उठाएको शुल्कको केही रकम चिकित्सकलाई दिनुपर्छ।’

मिर्गौला फेल बिरामीका लागि आवश्यक हेमोडायलाइसिस मेसिन बिग्रँदा सेवा खुम्चिएको छ। मेसिन थोरै र बिरामीको चाप धेरै हुँदा डायलाइसिसका लागि महिनौं पालो पर्खनुपर्ने अवस्था छ। त्यस्तै मुटुका लागि आवश्यक क्याथ ल्याब पनि बिग्रेको छ।

क्यान्सर उपचारका लागि खरिद गरिएको रेडियोथेरापी तथा टोमोथेरापी मेसिन राख्ने ठाउँ अभाव छ। मेसिन सशस्त्र प्रहरीको गोदाममा राखिएको अस्पताल स्रोतले जनाएको छ। अस्पतालका निर्देशक डा. सेन्चुरी मेसिन जडान गर्न बंकर निर्माण भइरहेको बताउँछन्।

उपकरण खरिदमा सरकारी अनुदानमै पूर्ण निर्भर छ। उपकरण मर्मत सम्भारका लागि समेत छुट्टै मर्मतसम्भार कोष व्यवस्था छैन। समयमै मर्मतसम्भार हुन नसक्दा सेवा अवरुद्ध हुने गरेको आर्थिक प्रशासन शाखाका एक कर्मचारीले बताए।

उपकरण खरिद गर्नुभन्दा सदुपयोग गर्नु ठूलो कुरा भएको स्वास्थ्यमन्त्री यादवको भनाइ छ। ‘अलोकप्रिय कार्य गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ। मेडिकल इथिक्स र अनुशासन पालना गर्नुपर्छ’, मन्त्री यादवले भने।

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु