बृद्धाश्रममा सन्तान आउने दिन कुर्दै ६८ वर्षीया चेतकुमारी बुढाथोकी

 

घोराही। ६८ वर्षीया चेतकुमारी बुढाथोकीले सायदै सोचेकी थिइनन्, जीवनको आखिरी खण्ड बृद्धाश्रमको पर्खालभित्र बिताउनुपर्ला भनेर चारयुग जस्तो लामो जीवनमा धेरै थोक पाएर भोगेर पनि । चार सन्तान र आफन्त हुँदाहु‘दै पनि । जीवनको अन्तिम उत्तराद्र्धमा सहाराविहीन बनेपछि उनी ओत खोज्दै तेरौंटेस्थित बृद्धा आश्रममा आइपुगेकी छन् ।

आश्रममा आश्रित अरु बृद्धबृद्धाझंै उनको व्यथा पनि कम्तिको छैन । उनी आफ्नो कोही र केही नभएर बृद्धाश्रमका आएकी होइनन् । उनका चार सन्तान् छन् । माइती र आफन्त छन् । र, पनि अहिले आएर उनी एक्लो बनेकी छन् । ‘जाँगर छउञ्जेल हात खुट्टा चलाएँ । बुढेशकाल लागेपछि रोगले च्यायो । काम गर्न नसक्ने भएँ’– बृद्धाश्रममा भेटिएकी उनले सुनाइन्– ‘आफ्नो भन्नु सबै भएर पनि म कतै अटाउन सकिन । त्यसैले बृद्धाश्रमको बाटो तताएकी हैन बाबु ।’ तीन महिनाअघि मात्र यहाँ आइपुगेकी उनले बृद्धाश्रमसम्मको आफ्नो जीवन कथा यसरी बेलीविस्तार लगाइन् ।

१२ वर्षमा उनको विवाह भयो । चार सन्तान भए । श्रीमानले उनीपछि दुई श्रीमती ल्याए । त्यतिले मात्र पुगेनछ । उनीमाथि कुटपिट पो गर्न थाले । सही नसक्नु भएपछि १२ वर्षको छोरा र तीन काखे नानी च्यापेर उनी दाङबाट नारायणगढ पुगिन् । श्रीमानसँग केही मागिनन् । ‘बुवाले दिएको पाँचतोल सुन थियो’– उनले भनिन्– ‘त्यही लिएर घरबाट निस्किएँ ।’

नारायणगढ पुगेर उनले १२ वर्ष होटल गरिन् । दुःख गरिन् । काखे सन्तानलाई पढाइन्, हुर्काइन् । शिक्षा दीक्षा दिइन् । विवाहवारी गरिदिइन् । जीवनको बाटो देखाइदिइन् । होटलबाटै कमाएको पैसबाट केही सम्पत्ति जोडिन् । पछि ती सबै सन्तानलाई भाग लगाइदिइन् । अहिले उनका तीनैजना सन्तानले राम्रै घरगृहस्थी गरेका छन् । एक सन्तान भने सानैमा भारत पसेका अहिलेसम्म फर्किएका छैनन् ।

शरीरमा बल र वैंश छउञ्जेल उनले होटल नै चलाइरहिन् । पछि जेठो छोराले होटल बेच्न लगाए । उनले बेचिदिइन् । त्यसपछि उनी जेठो छोरासँग बसिन् ।

‘उमेर छउञ्जेल सन्तानबाट राम्रै व्यवहार पाएँ’– उनले भनिन्– ‘तर जब उमेर बढ्दै गयो, रोगले सताउन थाल्यो । त्यसपछि उनीहरुका लागि म बोझ जस्तै पो भएँ ।’

केही वर्ष बिते । एकदिन उनलाई लाग्यो– ‘सधै यसरी किन बस्नु ?’ आफ्नै सन्तान पराई जस्तै हुँदै गएपछि उनको मनले बस्न मानेन । उसो त सन्तानप्रतिको जिम्मेवारी पनि निभाइसकेकै थिइन् । सबैले व्यवस्थित जीवन बिताइरहेकै थिए । उमेर छँदा सम्पत्ति जोडेकी उनले दाङ फर्कदा शरीर मात्र बोकेर ल्याइन् ।

दाङ त फर्किन् तर कहाँ जाने ? के गर्ने ? शरीरमा पहिले जस्तो जाँगर थिएन ।

र, पनि बाच्नु नै पर्ने । उनले एकजना मान्छे राखेर घोराही–१५ रतनपुरमा होटल खोलिन् । वर्षदिन चलाइन् । त्यसपछि उनी विरामी परिन् । पेटमा पानी भरिएको रहेछ । अप्रेसन गर्नुपर्ने भयो । साथमा केही थिएन । ‘न पैसा थियो, न आफन्ती’– उनले भनिन्– ‘होटल बेचेर औषधि गरें ।’

सबैभन्दा उनलाई दुःख त त्यति बेला लाग्यो जब १२, १५ दिन विरामी भएर थलिदा पनि उनलाई भेट्न कोही आएनन् । कसैले उनलाई बोलाएनन् । उनले आफ्नै जीवन धिक्कारिन् । अन्यत्र कतै जाने ठाउँ नभएपछि अन्ततः उनले वृद्धाश्रमको बाटो रोजिन् ।

वृृद्धाश्रमम आएको तीन महिना बित्दा पनि सन्तानले उनलाई भेट्न आएका छैनन् । न त फोन नै गरेका छन् । सन्तान र आफन्तदेखि उदेक लागेर आउँछ उनलाई । आफ्ना भन्नु भाइ बुहारी छन् । बेलाबखत बुहारी भने भेट्न आइरहन्छिन् तर भएका आफ्नै सन्तानले भने उनलाई सम्झिएका छैनन् ।

आश्रममा उनका दिन र रात निकै अत्यासलाग्दो बित्छ । रातभर सन्तानको सम्झनाले सताउँछ । त्योभन्दा धेरै बुढ्यौलीको एक्लोपनले । रातिभर सुत्न नसकेकी उनी दिउँसो भने सुस्साइरहन्छिन् । ‘सबै भएर पनि कोही नभएजस्तो हुनुपरेको छ’– उनले दुखेसो पोखिन् ।

र, पनि आमाको मन न हो । मान्दै मान्दैन । उनलाई लागेको छ– आफैले जन्माए, हुर्काएका सन्तानले एकदिन त कसो पो न सम्झिएलान् ।’ बरु उनलाई अरु मोह केही छैन । सन्तानको साथ चाहिएको छ । सुखदुःख जे छन्, सन्तानको साथमा बिताउनुछ । ‘उनीहरुको साथ पाए पुग्ने थियो’– उनले भनिन्– ‘लिन आए त म अहिले नै जाने थिएँ ।’

जीवनको अन्तिम क्षण उनलाई बृद्धाश्रमको चार पर्खालभित्र बिताउनु छैन । वृद्धाश्रममा उनलाई बस्न मन पनि छैन । तर अब यो भन्दा जाने ठाउँ अन्यत्र कतै छैन । र, पनि उनी वृद्धाश्रममा भित्रै एकोहोरो सुस्साउँदै सन्तानको बाटो हेरिरहन्छिन् । यो समाचार आभास बुढाथोकीले नयाँयुगबोध राष्ट्रिय दैनिकका लागि लेख्नुभएको हो।

प्रकाशित भएको : February 12th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु