स्वीस कम्पनीले दिएको ७० करोड थोरै भयो, जर्मनको चार अर्ब ८० करोडको अफरमा लोभिँदा चिप्लिए गोकुल

 

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा स्वीस कम्पनीले दिएको भन्दा जर्मन कम्पनीले दिएको कमिशन गुणात्मकरुपमा धेरै भएपछि ७० करोड रुपियाँ कमिशनको रहस्या बाहिर आएको खुलेको छ । स्वीस कम्पनीका नेपाली एजेन्टले आफूहरुले दिएकोभन्दा स्वीस कम्पनीले धेरै कमिशन दिएर ठेक्का सम्झौता हुन लागेपछि सुचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले कमिशन मागेको अडियो मिडियाहरुलाई दिएका थिए । स्वीस कम्पनीले २६ अर्बमा उक्त सेक्युरिटी प्रेस खरिद गर्न तयार रहेको र त्यसबापत ७० करोडसम्म कमिशन दिन तयार भएका थिए । तर जर्मन कम्पनीले सोही ठेक्का ४० अर्बमा गर्ने र त्यसवापत चार अर्ब ८० करोड रुपियाँ कमिशन दिन तयार भएपछि स्वीस कम्पनी र मन्त्री बाँस्कोटाबीचको बार्गेनिङको अडियो बाहिर ल्याइएको थियो ।

यो अडियो सार्वजनिक गर्ने स्वीस कम्पनीको नेपाली एजेन्ट विजयप्रकाश मिश्रले लेखा समितिले नै जर्मन कम्पनीलाई यो ठेक्का दिने तयारी गरेपछि आफूले अडियो क्लिप मिडियालाई दिएको खुलासा गरेका छन् ।एउटै स्पेशिफिकेशनमा एउटा कम्पनीलाई २६ अर्बमा सेक्युरिटी प्रेस ल्याउँछु भन्दा नदिएर अर्कोलाई ४० अर्बमा ठेक्का गर्न खोज्दा मुलुकलाई १४ अर्ब रुपियाँ थप थोक्सानसमेत हुँदैथियो । जर्मन कम्पनीलाई दिँदा उसले १२ प्रतिशत कमिशनको प्रतिवद्धता जनाएको मिश्रको भनाई उदृत गर्दै केही सञ्चार माध्यमले समाचार छापेका छन् । नेपालमै इ–पासपोर्ट छपाई गर्ने भन्दै त्यसका लागि सेक्युरिटी प्रेसको स्थापना गर्न लागिएको थियो । स्वीस कम्पनीसँग कुरा नमिलेपछि मन्त्री बाँस्कोटाले जर्मन कम्पनीसँग कुरा अघि बढाएका थिए ।

स्वीस कम्पनीसँग कुरा नमिलेको र उसमाथि विभिन्न समस्या देखाउँदै जर्मनी कम्पनीलाई करिब ४० अर्ब रुपियाँमा ठेक्का दिने तयारी भएको थियो । आफूहरुले ठेक्का नपाउने अवस्था भएपछि स्वीस कम्पनीका एजेन्ट कमिशनको खेल पर्दाफास गर्न लागिपरेका थिए । मिश्रले अडियो सार्वजनिक नगरेको भए बिहीबार जर्मन कम्पनीसँग झण्डै ४० अर्बमा ठेक्का सम्झौताको तयारी भइसकेको थियो । आफूले कुनै पनि भ्रष्टाचार नगरको र गएको भए पुष्टि गर्न चुनौति दिँदै आएका गोकुल प्रधानमन्त्री केपी ओलीका विश्वास पात्र र निकट व्यक्ति मानिन्छन् । अडियो बाहिर आएसँगै बाँस्कोटालाई बर्खास्त गर्न चौतर्फी दबाब बढेको थियो । चर्को दबाबपछि उनले मन्त्री पदबाट राजीनामा दिएका छन् । बाँस्कोटालाई बर्खास्त गर्न र सेक्युरिटी प्रेस खरिद प्रक्रियामा भएको अनियमितता छानविन गर्न प्रमुख प्रतिपक्ष दल काँग्रेसले माग गर्नुका साथै संसदमा समेत चर्को आवाज उठेको थियो ।

अन्तिम पटक अपडेट गरिएको : February 23rd, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु