चिकित्सक भन्छन् : “लिटो र बट्टाको दुध छ महिना नपुगेको शिशुलाई खुवाउनु हानिकारक”


 

बिबिसी, पछिल्लो समय आमाहरूले शिशुलाई स्तनपान नगराउने वा गराएपनि थप खानेकुरा खुवाउँदा बालबालिकाको स्वास्थ्यमा समस्या देखिने क्रम बढेको चिकित्सकहरूले बताएका छन्।

बच्चा छ महिनाको नहुँदासम्म आमाकै दुध मात्रै खुवाउनुपर्ने र त्यसको विकल्प अरू खोज्न नहुने उनीहरू बताउँछन्। तर स्तनपानको सट्टा वा स्तनपानसँगै बच्चालाई दुध अथवा लिटो खुवाउने प्रवृति विशेष गरेर सहरी क्षेत्रमा बढेको उनीहरूको अनुभव छ।

त्यसो गर्दा बालबालिकालाई आवश्यकताभन्दा बढी पोषण हुने र त्यसले पछिसम्म स्वास्थ्यमा नकारात्मक प्रभाव देखापर्ने उनीहरूको भनाइ छ।

सन् २०१६ को सरकारी तथ्याङ्कले ६६ प्रतिशत आमाहरूले मात्रै छ महिनाभन्दा कम उमेरका शिशुहरूलाई स्तनपान मात्रै गराउने गरेको देखाएको छ।

पछिल्लो समय खासगरी सहरी क्षेत्रमा कामकाजी महिलाले समयअभावका कारण पनि बच्चालाई स्तनपानमा भन्दा बट्टाको दुधमा जोड दिएको बताइन्छ।

बालरोग विशेषज्ञहरूको अनुभवमा पछिल्लो समय खासगरी नयाँ आमाहरूले दुध नआएको भन्दै बट्टाको दुध वा लिटो खुवाउने प्रवृत्ति बढेको छ।

त्रिवि शिक्षण अस्पतालकी बालरोग विशेषज्ञ डा. सुधा बस्नेतको अनुभवमा पहिलो सन्तान भएका नयाँ आमाहरूमा धैर्यता कम हुने हुँदा दुध नआउने र त्यसको असर बच्चाको शरीरमा परिरहेको छ।

उनी भन्छिन्, “दुध पुगेन भनेर एक वा दुई महिनादेखि नै लिटो खुवाइदिने गरेको एकदमै धेरै पाइन्छ जुन एकदमै हानिकारक हो।
“बट्टाको दुध दिनु पनि राम्रो होइन तर जसरी ठोस आहार दिइन्छ, त्यो चाहिँ एकदमै राम्रो होइन।”

भक्तपुरमा गरेको एउटा सर्वेक्षणमा जम्मा १२ प्रतिशत महिलाले मात्रै छ महिनासम्म बच्चालाई स्तनपान गराएको पाइएको बालरोग विशेषज्ञ डा. मेरिना श्रेष्ठले बताइन्।

डा. श्रेष्ठ भन्छिन्: “आमालाई सहयोग गर्ने मानिसले पनि तिम्रो दुध पुगेन जस्तो छ भनिदिएपछि त्यसको नकारात्मक असर बच्चालाई पर्छ।” “हर्मोन विकसित भएपछि दुध आउने भएकोले मानसिक रुपमा आउँदैन भनेर सोचेपछि त्यसको असर पर्छ। आमाले जति चुसायो दुध त्यति आउने हो। त्यसलाई रोक्न दिनुहुँदैन।”

कतिपय आमालाई चाहिँ स्तनपानबाट खुवाउँदा बच्चाले कति दुध खायो भन्ने थाहा नहुँदा पुगेन भन्ने लाग्ने गरेको उनले बताइन्।

स्तनपानबाट बच्चालाई दुध पुगे नपुगेको आमाले कसरी थाहा पाउने?

डा. श्रेष्ठ भन्छिन्, “आमाको दुध मात्रै खाएर बच्चाले २४ घण्टामा छदेखि आठ पटकसम्म पिसाब फेर्छ भने त्यो बच्चालाई आमाको दुध पुगेको हुन्छ।”

आमाको दुधबाहेक अन्य कुरा खुवाउँदा त्यसले बच्चाको स्वास्थ्यमा लामो समयसम्म असर पार्ने हुँदा छ महिनासम्म आमाकै दुधमा जोड दिनुपर्ने डा. बस्नेत सुझाउँछिन्।

ठोस पदार्थले बच्चाको पाचन प्रक्रियामा समस्या आउने वा पछिसम्म आन्द्राको समस्या हुने उनीहरूको भनाइ छ।

पर्याप्त प्रयास नगर्दा दुध नआउने समस्या देखिएको बताउँदै नयाँ आमाहरूलाई आफूले गाईको उदाहरण सुनाउने गरेको बस्नेतले बताइन्।

उनले भनिन्, “गाईले बच्छा पाएपछि दुध आएन भनेर बस्दैन वा दुधको विकल्प खोज्दैन। त्यसैगरी आमाले पनि आफ्नो बच्चाको लागि आफ्नै दुध खुवाउनुपर्छ। बट्टाको दुध वा लिटो खोज्नुहुँदैन।”

प्रकाशित भएको : August 2nd, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु