उपभोक्ता लुट्न तौलमा ठगी गर्ने सहारा र बाबा ग्याँस उद्योगमाथि ठगी मुद्दा दायर


 

मकवानपुर, १९ चैत ।

विषम परिस्थितिमा पनि उपभोक्ता ठग्न पल्किएका उद्योगी एवं व्यापारीहरुमाथि सरकार कडाई साथ उत्रन थालेको छ ।

अभावमा उपभोक्तालाई तनाव थप्ने ग्याँस व्यवसायीहरु कारवाहीको दायरामा तानिएपछि उपभोक्ताहरुले भने राहतको महसुस गरेका छन् ।

सरकारले कोरोना संक्रमणको समयमा लकडाउन गर्दा ग्याँस आयातमा असहज हुने र सर्वसाधारणलाई खाना पकाउने ग्याँस पुगोस् भन्दै ग्याँस उद्योगलाई आधा सिलिण्डर ग्याँस बजार पठाउन निर्देशन दिएको थियो ।

सामान्यतया प्रत्येक सिलिडरमा १४.२ किलो ग्याँस हुने गरेकोमा लकडाउनको अवधिका लागि मात्रै आधा सिलिण्डर अर्थात ७.२ किलोका दरले गत चैत्र ११ गतेदेखि बजारमा उद्योगहरुले ग्याँस पठाएका थिए ।

तर मकवानपुरमा चितवनको बाबा ग्याँस र मकवानपुरकै सहारा ग्याँस सिलिण्डरमा तोकिए बमोजिम तौल नभएको भेटिएको थियो ।

बजारमा बिक्रीका लागि बाबा ग्याँस उद्योगले पठाएको आधा सिलिण्डर ग्याँसमा ७ दशमलब १ किलो हुनुपर्नेमा ६ किलो २ सय ७० ग्राम (८ सय ३० ग्राम) घटी फेला परेको थियो भने सहारा ग्याँस उद्योगले पठाएको ग्याँसमा १ सय ९५ ग्रामसम्म घटी फेला परेको छ ।

यसरी बजारमा आईपुगेका ग्यासको तौलमा घटी हुनु कालाबजारी भएको भन्दै उपभोक्ता हित संरक्षण मञ्चले मकवानपुर जिल्ला प्रशासन कार्यालयमा ठगी मुद्दा दायर गरेको छ ।

मञ्चले मुलुकी आचार संहिता २०७४ को परिच्छेद २१ को दफा २४९ र उपभोक्ता संरक्षण ऐन २०७५ को परिच्छेद ४ दफा १६.२ क विपरितको कसूर गरेको भन्दै ठगी मुद्दा दायर गरेको छ ।

यस सम्बन्धमा उपभोक्ता हित संरक्षण मञ्चले बजारमा उपभोक्ताहरु ठग्ने उद्योगहरुलाई कारवाही हुनु पर्ने माग राख्दै आएको छ । कैफियत गर्ने उद्योगलाई कालो बजारी अन्तर्गत कारवाही गर्ने प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले प्रतिबद्धता जनाउनु भएको छ ।

जिल्ला प्रशासन कार्यालय, मकवानपुरले घटी तौल रहेका ग्याँस सिलिण्डरहरुको विक्री केन्द्रमा नै पुगी सरोकारवालाहरुको रोहबरमा मुचुल्का तयार गरी ग्यास सिलिण्डरहरु नियन्त्रणमा लिएको छ ।

प्रकाशित भएको : April 1st, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु