बाबुराम र रवीन्द्र मिश्रलाई सूर्य थापाको जवाफः जनताले दिएको थान्कोमै बस्नुहोस्


 

२८ चैत काठमाडौँ

कोभिड १९ को महामारी फैलिन नदिनका लागि उच्च स्तरीय राजनीतिक संयन्त्रको गठन गर्न सरकारलाई चौतर्फी दबाब परेको छ । हिजोसम्म विपक्षी दलहरुले मात्रै उच्च स्तरीय राजनीतिक संयन्त्रको गठन गर्न माग गरेका थिए भने अब सत्तापक्षकै नेताहरुले पनि त्यसमा समर्थन जनाएपछि सरकार दबाबमा परेको हो ।

लगातार रुपमा सर्वदलीय अथवा उच्च स्तरीय राजनीतिक संयन्त्रको गठन गर्न माग उठिरहे पनि सरकारले यसलाई काग कराउँदै गर्छ पिना सुक्दै गर्छ जस्तो व्यवहार गरेको छ । अहिलेको अवस्थामा सरकारले नै सबै काम आफ्नो ढंगले गरिरहेकोले कुनै किसिमको संयन्त्रको आवश्यकता नरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो । उहाँले फुर्सदमा रहेका मान्छेहरुका सबै माग पूरा गर्न सरकार बाध्य नहुने धारणा राख्नुभयो । राजनीतिक संयन्त्र गठनका लागि बलियो गरी आवाज उठाउने पूर्व प्रधानमन्त्री डा.बावुराम भट्टराई र साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई उहाँले जनताले जुन थान्कोमा राखेको छ त्यही थान्कोमा बसेर भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले नै उच्च स्तरीय राजनीतिक संयन्त्रको गठन गरेर जनतामा आत्मविश्वास पैदा गर्न सरकारसँग माग गर्नुभएको छ । इमेज टेलिभिजनसँगको एक अन्तर्वार्ताका क्रममा अध्यक्ष प्रचण्डले विपत्तिका बेला सबै राजनीतिक दलहरु एक ठाउँमा उभिएर कोरोना महामारीको मुकावीला गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारको संयन्त्रले काम गरिरहेको भए पनि सरकार एक्लैको प्रयासले महामारी रोक्न कठिन हुने कुरालाई मनन गर्न प्रधानमन्त्री र सरकारलाई आफूले अपिल गर्न चाहेको बताउनुभयो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केही नेताहरुसहित अन्य राजनीतिक दलका नेताहरुले पनि कोभिड १९ को सामना गर्नका लागि उच्च स्तरीय सर्वदलीय सम्यन्त्रको निमार्ण गर्न सरकारलाई लगातार आग्रह गरिरहेका थिए । सरकार एक्लैले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को महामारीको सामना गर्न नसक्ने भन्दै विज्ञहरुसमेत सम्मिलित उच्चस्तरीय समितिको गठनका लागि सरकारलाई लगातार दबाब परिरहेको छ । शक्तिशाली सरकारले मुलुक हाँकिरहेको भए पनि महामारी रोकथामका लागि सरकारको एक्लो प्रयास पर्याप्त नहुने राजनीतिक विश्लेषक मुमाराम खनालको भनाई छ ।

हुन त सरकारले कोरोना भाइरसको प्रकोप फैलिन नदिन उपप्रधानमन्त्रीको नेतृत्वमा उच्च स्तरीय समिति गठन गरेर काम गरिरहेको छ । तर कोरोना रोकथामकै विषयमा सरकारका काम र निर्णयहरु एकपछि अर्को गरी लगातार आलोचनाको घेरामा पर्न थालेपछि सरकारको समन्वय निकै नै कमजोर रहेको देखाएको छ । गलत व्यक्तिहरुलाई महत्वपूर्ण भूमिका दिइएपछि सरकार र पार्टी अप्ठ्यारोमा पर्दै गएको आवाज पनि नेकपाभित्र बलियो हुँदै गएको छ । नेकपाका नेता भीम रावलले सरकार र पार्टीले गलत व्यक्तिहरुलाई भूमिका प्रदान गरेपछि अहिले समस्या उत्पन्न भएको आरोप लगाउनुभयो । पछिल्ला भ्रष्टाचारका काण्ड यसकै उपज भएको बताउँदै उहाँले त्यस्ता व्यक्तिहरुलाई पदमुक्त गर्न आग्रह गर्नुभयो ।

अन्तिम पटक अपडेट गरिएको : April 29th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु