‘एक महिनाअघि भारत जुन ठाउँमा थियो, हामी त्यहीँ छौँ’


 

डा. अनुप सुवेदी, संक्रामक रोग विशेषज्ञ

नेपालमा अहिलेसम्म कोरोना बेस्सरी फैलिन थालेको छैन । यसको मतलब, नेपालमा कति फैलिएको छ भन्ने थाहा छैन । हामीले जताजता खोज्यौँ, त्यता-त्यता पायौँ।

पछिल्लो समय सुदूरपश्चिमबाट संकलन गरिएका नमुनाको नतिजा आउन बाँकी छ । त्यो आएपछि हामी धेरै कुरा भन्न सक्ने हुन्छौँ । तर, त्यस्तो किसिमको टेस्ट देशभर गर्नुपर्छ ।

टेस्ट मात्र गरेर पनि भएन । सम्भावित लक्षण हुन सक्ने मानिसहरुलाई पत्ता लगाउनुपर्छ । देशभरि घरघरमा गएर कसलाई खोकी लागेको छ, कसलाई सास फेर्न गाह्रो भएको छ, बुझ्नुपर्छ ।

टेस्ट किट देशभरि पुर्‍याउनुको त विकल्प नै छैन । हेलिकप्टरमा लगेर किट छाड्दै फर्किँदा नमुना संकलन गरेर ल्याउनुपर्छ । अहिले तत्काल ड्रोन ल्याउन सम्भव छैन । तर, पछि त्यो पनि ल्याउनुपर्छ ।

अर्को खाले जिन एक्सपर्ट भन्ने टेस्ट हुन्छ । त्यो देशभरका ५०/६० अस्पतालमा गर्न सकिने रहेछ । नेपालमा कुनै दातृ संस्थाले अनुदानमा दिँदैछ भन्ने कुरा सुनिएको छ । त्यो आएपछि टेस्ट गर्न झनै सजिलो हुन्छ । तर, त्यसो गर्दा पनि देशभरका लागि टेस्ट पर्याप्त हुन्न ।

एकजना पोजेटिभ मानिस आयो भने उसले ५० जना मानिससँग सम्पर्क गरेको हुन्छ । कसैसँग हाई हेल्लो मात्र गरेको होला त कसैसँग बसेर कुरा गरेको हुन सक्छ । उनीहरुलाई पहिचान गरेर आइसोलेसनमा राख्नुपर्छ । आइसोलेसनको व्यवस्था स्थानीय स्तरमै गर्नुपर्छ । जुम्लामा पोजेटिभ देखियो भने धनगढीमा आइसोलेसनमा राख्न सम्भव हुन्न ।

यसरी राखिसकेपछि उनीहरुको उपचारमा स्वास्थ्यकर्मी खटाउनुपर्छ । कन्ट्याक ट्रेसिङको काम गर्नुपर्छ । त्यसो गर्दा कसैलाई ज्वरो आयो भने तुरुन्त टेस्ट गर्ने व्यवस्था गर्नुपर्छ । आइसोलेसनमा हालिएकाहरुलाई र उनीहरुको परिवारका लागि खानपान सुरक्षा पनि गर्नुपर्छ । सामाजिक दुरी कायम गर्न सकियो भने र संक्रमण कम देखियो भने मात्र लकडाउनलाई खुकुलो बनाउँदै लानुपर्छ ।

यो भाइरस पहिला कुनै समय हामीसँग जम्काभेट भएको छैन । जसकारण त्यो भाइरससँग लड्न सक्ने क्षमता हामीसँग विकास भएको छैन । जसका कारण हामी सबै संक्रमित हुन सक्छौँ । अर्थात् अहिले जनसंख्याको पाँच प्रतिशतमा संक्रमण भयो भनेपछि गएर अरु ९६ प्रतिशतमा संक्रमण हुन सक्छ । यसको खतरा एकैपटकमा टर्‍यो भनेर सोच्नु नै घातक हुन्छ ।

पछि इण्डियाबाट एकजना आउला र विस्तारै फैलँदै जाला । अथवा यहाँ हामीले पहिचान गर्न नसकेका २/४ जनालाई देखिएला र त्यसले संक्रमण फैलाउला । सोही कारण पछि पनि हामीलाई यसको खतरा हुन सक्छ । हाम्रो त छिमेकी देशमा केही महिना ठूलो महामारी फैलिनेवाला छ । त्यहीँबाट हामीलाई सधैँ खतरा हुने सम्भावना छ । चीन दक्षिण कोरियाबाट पनि खतरा हुन्छ ।

पछि पनि खतरा हुन्छ भन्ने बुझेर सरकारले अहिलेदेखि तयार गर्नुपर्छ । टेस्ट किटदेखि लिएर पीपीई जोहो गर्नुपर्छ । तत्कालका लागि होइन, पछिका लागि सोच्नुपर्छ । आइसोलेसन र क्वारेण्टाइन स्थल बनाउनुपर्‍यो । अहिले खटिएका स्वास्थ्यकर्मीहरुलाई तालिम दिएर निश्चित कुराहरु सिकाएर पछिका लागि तयार गर्नुपर्छ । अहिले आइसीयू र भेन्टिलेटर नभएको ठाउँमा पछिका लागि सोचेर अहिलेदेखि नै जोहो गर्नुपर्छ ।

हामीले यतिबेला के बुझ्नुपर्छ भने कोरोना महामारी एकैपटक आएर सकिने होइन, बारम्बार आउँछ । राज्यले त्यहीअनुसार सबै कुराको पूर्वतयारी गर्नुपर्छ । अहिले पूर्वतयारी गरेन भने पछि झन ठूलो विपत आउँछ ।

भारतको सीमा नाका लामो समय बन्द गर्नुको विकल्प हुन्न । किनकि नेपालमा संक्रमण देखिएन भने पनि कोरोना भित्रिने भारतबाट नै हो ।

अहिले हाम्रो राज्यले नगरेको होइन कि के गर्नुपर्ने नबुझेकोझैं भएको छ । गर्न सक्छौँ भन्ने आत्मविश्वास भएको मान्छे कम देख्छु म । भाषण मात्र गर्ने किसिमको मान्छे हाबी भएकाले पनि काम कम भयो । काम गरेर सफल भएकोभन्दा भाषण गरेर सफल भएका मान्छे धेरै भए । कोरोना कुन स्केलमा आउँछ भन्ने बुझ्नेहरु छन् कि छैनन् ? सुरूको चरणको काम नभएका कारणले पछिको कुरा बुझेका छन् भन्ने मलाई लाग्दैन । सुरुको गाँसमै उहाँलाई ढुंगा लाग्यो, पछि गर्नुहुन्छ होला कि ? त्यो हेर्न बाँकी छ ।

अहिलेको सकरात्मक पक्ष भनेको नै स्थानीय तहको सक्रियता हो । यो नै आशाको झिल्को हो । पब्लिकहरुले सरकारलाई साथ दिएका कारणले धेरै कुरा कन्ट्रोल गरिरहेको छ ।

हामी कुन अवस्थामा छौँ भन्नका लागि हामीसँग तथ्यांक नै हुनुपर्छ । विनाआँकडा यसबारेमा बाेल्दा अनुमान मात्र हुन्छ । मेरो आकलन चाहिँ के हो भने एक महिनाअघि इण्डिया जुन ठाउँमा थियो, हामी त्यही ठाउँमा छौँ।

पहिला उनीहरु अनेक भ्रमहरु मान्दै बसेका थिए, अहिले हामी त्यस्तै अवस्थामा छौँ । यसको मतलब, कोरोना आउँदैन भनेर ढुक्क हुने अवस्थामा हामी छैनौँ।

हाम्रोमा १/२ सय वा १/२ हजार संक्रमित भेटिन सक्छन् । तर, हजारबाट नै लाख पुग्ने हो । त्यसका लागि एक/दुई हप्ता पनि लाग्दैन । हामीले त्यसका लागि सतर्क रहनुको विकल्प नै छैन ।

हामीले बुझ्नुपर्ने कुरा के हो भने लकडाउनले खतराबाट मुक्त गर्दैन, फैलन कम गर्ने मात्रै हो । लकडाउन भनेको नदीको बाँधजस्तै हो । बाँधमा पानी जम्मा भइरहेको जस्तै हो । बाँध खोलेपछि पानी त बग्छ नै । त्यसैले, हामीले सार्वजनिकरुपमा घुलमिल गर्नुहुन्न । निरन्तर लकडाउन नभए पनि पटक–पटक लकडाउन हुन सक्छ । कम्तिमा एक/डेड वर्ष हाम्रो जीवन नर्मल अवस्थामा फर्कन सक्दैन ।

भ्याक्सिन नआउज्जेल खतरा सधैँ हुन्छ । त्यसैले सबैले आफ्नो ठाउँबाट काम गर्नुपर्छ । कोरोना संक्रमण हुने सबैमा लक्षण देखिन्छ भन्ने हुन्न । सोही कारण हामीले धेरैभन्दा धेरै जाँच गर्नुपर्छ भनेको हो । लक्षण देखिएकोलाई मात्र जाँच्न हो भने धेरै संक्रमितको पहिचान नै हुन्न । जसका कारण पछि उनीहरुले संक्रमण फैलाउने डर हुन्छ ।

र्‍यापिड टेस्ट होस् या पीसीआर, दुबै टेस्टको रिपोर्टमा समस्या आएका उदाहरण छन् । समस्या दुबै प्रविधिमा छ । त्यसैले दुइटै प्रविधिलाई प्रयोग गर्न जान्नुपर्छ ।

एकै पटकमा ढुक्क हुने अवस्था पनि हुन्न । अहिले किटको अभाव त संसारभर हो । दीर्घकालीन रुपमा सोच्ने हो भने हामी आफैँले किट बनाउनुपर्छ । त्यसका लागि तालिम लिनुपर्छ ।

अब धेरै राम्रो रिजल्ट निकाल्ने हो भने सबैलाई टेस्ट गर्न पाइएन भने संक्रमितसँगको सम्पर्कमा आएका, तर लक्षण नदेखिएकालाई भने अनिवार्य टेस्ट गर्नुपर्छ । त्यसो हुदाँ किटको अभाव हुँदा पनि प्रभावकारी टेस्ट हुन सक्छ । साँच्चिकै किट अभाव भयो भने त यसै गर्ने हो ।

यसरी गर्न सम्भव पनि छ । सुरुमा नेपालमा केस नै देखिन्न भन्थे । तर, देखियो । यत्रो मान्छेलाई क्वारेण्टाइनमा कसरी राख्ने भन्ने थियो, तर त्यो पनि गर्नैपर्‍यो । लकडाउन नेपालमा सम्भव नै हुन्न भन्थे, त्यो पनि भयो । त्यसैले म भन्छु– भविष्यमा आइपर्ने विपत्ति सामना गर्न अहिलेदेखि नै तयार हुनुपर्छ ।’

(कुराकानीमा आधारित)

अन्तिम पटक अपडेट गरिएको : April 29th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु