‘राहत त पाइयो, आफैं काम गरेर खान कहिले पाइएला’


राहत लिएपछि दलबहादुर विक मजदूर । तस्बिर : युवराज श्रेष्ठ
 

युवराज श्रेष्ठ । पोखरा, चैत २९

लक डाउन भएपछि पोखरा-३१ बेगनासतालका दलबहादुर बिकको घर तथा भवन बनाउने काम रोकियो।

दिनभर ज्याला मजदुरी गरेर श्रीमती र ३ छोरासहित ५ जनाको परिवार पालिएका उनीहरुको घरमा खाद्यान्न सकियो। पोखरा महानगरले दिने भनेको राहतका लागि उनले पनि नाम लेखाए, शनिबार बेगनासताल नजिकैको बेगनास युवा क्लबको भवनबाट राहत बुझे।

राहतमा उनले २५ किलोको १ बोरा चामल, १ पोका नुन, २ किलो दाल र १ किलो चना पाए।

राहत बुझेपछि उनले भने, ‘अलि दिनलाई छाक टर्ने भयो, काम गर्नचाहिँ कहिलेदेखि पाइएला?’

सरकारले वैशाख ३ गतेसम्मका लागि लक डाउनको अवधि लम्ब्याएको छ। त्यसपछि फेरि लक डाउन थपिने सम्भावना धेरै छ।

राहत बुझ्न दलबहादुरका श्रीमती नानुमाया बिक पनि सँगै आएकी छिन्। श्रीमानले चामलको बोरा बोक्दा उनले नुन, तेल, दाल र चना लिइन्। भान्सामा पकाउने कुरा सकिएकाले यति भए पनि धेरै भएको उनले सुनाइन्।

‘यो रासन नसकिँदै लक डाउन खुल्दिए हुन्थ्यो,’ उनले भनिन्, ‘काम गरेर खान पाए ढुक्कै हुन्थ्यो।’

पोखरा महानगरले ३ जनाभन्दा कम रहेको परिवारलाई राहतमा चामल साँढे १२ किलो दिन्छ। नुन, तेल, दाल र चना भने सबैलाई बराबर छ। आधा बोरा चामल पाएका यातायात मजदुर सुमन मगरको परिवारमा श्रीमी र १ छोरीसहित ३ जनाको परिवार छ।

‘लक डाउन छिटो खुलिदिए काम गरेर खाइन्थ्यो,’ सुमनले भने, ‘काम गर्न नपाएर खानकै चिन्ता भयो।’

महानगरले शनिबार बेगनासताल आसपासका १२५ जनालाई राहत वितरण गरेको छ।

राहत वितरण गरिरहेको ठाउँमा केही असन्तुष्ट नागरिकहरू पनि थिए। उनीहरूले राहतको विवरणमा आफूहरूको नाम नसमेटिएकोमा आक्रोश पोखे।

यातायात मजदुरकै रूपमा काम गर्ने रौतहटका सुनिल बैठाले आफूहरूको नाम टिपेर लगे पनि राहत दिने बेला नआएको बताए।

‘हाम्रो नाम किन काटिएछ,’ उनले भने, ‘घरमा खाने केही छैन, यही सबैले बाँडौं।’

रौतहटबाट पोखरा आएर बेगनासताल बस्न थालेको पनि १६ वर्ष पुगिसकेको सुनिलले बताए।

राहत पाउने लिष्टमा नअटाएका मजदुरले असन्तुष्टि जनाएपछि वडाध्यक्ष कमलबहादुर थापा राहत वितरण भइरहेको ठाउँबाट बाहिर निस्किए र असन्तुष्ट मजदुरलाई सम्बोधन गरे। उनले बेगनासतालमा १२० जना मजदुर छुटेकाले उनीहरूका लागि छिट्टै राहत वितरण गर्ने आश्वासन दिए।

‘मैले मेयरसँग कुरा गरिसकेको छु, रेडक्रस र अन्य संस्थाले पनि राहत दिने भनेको छ,’ अध्यक्ष थापाले भने, ‘सबै वडाबाटै वितरण गर्ने हो, अब छुटेकालाई दिन्छौं।’

यता, छुटेका मजदुरले भने छिटो हुनुपर्ने माग राखेका छन्। वडाध्यक्ष थापाले आफ्नो वडामा ८ वटा क्लष्टर बनाएर राहत वितरण गरिसकेको बताए। यी ८ ठाउँबाट ४ सय ७ जनालाई राहत वितरण गरिसकेको छ। राहत वितरण गर्नुअघि वडाअध्यक्ष लगायत सदस्य र टोलविकास समितिले विपन्न तथा मजदुरको नाम सिफारिस गरेका थिए।

उनीहरूले सिफारिस गरेको नाम अन्तिम रूपमा वडा तहमा रहेका राजनीतिक पार्टीका प्रतिनिधिसहितको सर्वदलीय बैठक बसेर निर्णय गरेको वडाध्यक्ष थापाले बताए।

‘भोलि कुनै विवाद नहोस्, र कोही नछुटोस् भनेर सबै पार्टीका साथीहरू बोलाएर निर्णय गरेको हुँ,’ थापाले सेतोपाटीलाई भने, ‘छुटेका मजदुर र विपन्नलाई छिट्टै राहत दिन्छौं।’

वडाध्यक्ष थापाका अनुसार बेगनासमा क्वारेनटाइनका लागि ३ वटा विद्यालयलाई तयारी अवस्थामा राखिएको छ। अहिलेसम्म कोही पनि क्वारेनटाइनमा बस्न नपरेको उनले बताए। कोरोना भाइरसको महामारीको यस समयमा बेगनासमा विदेशबाट १६ जना भित्रिएका छन्। उनीहरू भारत, कोरिया, हङकङ, साउदी अरबलगायतका देशबाट आएका हुन्।

विदेशबाट आएका १६ जनालाई नै होम क्वारेनटाइनमा राखेको र २१ दिन पुगिसकेको वडाध्यक्ष थापाले बताए।

पोखरा महानगरले अहिलेसम्म १८ हजार विपन्न तथा मजदुरलाई राहत वितरण गरिसकेको जनाएको छ। महानगरले बनाएको कोरोना राहत कोषमा महानगरले २ करोड ४८ लाख ५० हजार रुपैयाँ राखेको थियो। उक्त रकममा महानगरका मेयरदेखि कर्मचारीले समेत योगदान गरेका छन्। यस्तै, मजदुर तथा विपनन्न नागरिकलाई राहत दिन गण्डकी प्रदेशले पोखरा महानगरलाई १ करोड रुपैयाँ दिएको थियो भने विभिन्न संघ-संस्थाबाट २० लाख रुपैयाँ प्रदान गरेका थिए।

‘कोषमा रकम आइराखेका छन्, हामी राहत वितरण गरिराखेका छौं,’ मेयर मानबहादुर जिसीले भने, ‘कोही छुटेका भए वडाबाटै आउन भनेका छौं।’ सेतोपाटीबाट साभार

अन्तिम पटक अपडेट गरिएको : December 23rd, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु