सर्वोच्च अदालतमा रिट निवेदन दर्ता सुनुवाइ शुरु


 

सर्वोच्च अदालतले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि केही समय स्थगन गरेको नयाँ रिट निवेदन दर्ता र सुनुवाइ प्रक्रिया आजदेखि शुरु गरेको छ । सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार अदालतले आजदेखि नयाँ रिट निवेदन दर्ता र सुनुवाइ शुरु गरेको हो । सर्वोच्च अदालतको यही वैशाख १४ गते प्रधानन्यायाधीशसहित न्यायाधीशहरुको पूर्ण बैठकले आजदेखि रिट निवेदन दर्ता र सोको सुनुवाइ शुरु गर्ने निर्णय गरेको थियो ।

विपद्मा सामाजिक दूरी कायम गरी सुरक्षाप्रति सावधानी अपनाउनुपर्ने भएकाले रिट निवेदन दर्ता र सुनुवाइको क्रममा सेवाग्राही, कानून व्यवसायी तथा कर्मचारीसमेत आवागमन र उपस्थितिमा आवश्यक नियमन, नियन्त्रण र व्यवस्थापन अदालत प्रशासनले मिलाउने तयारी गरेको छ ।

विश्वव्यापीरूपमा फैलिएको कोरोना भइरसको सम्भावित सङ्क्रमणबाट जोगिन सर्वोच्च अदालतको गत चैत ७ गते बसेको पूर्ण बैठकले अतिआवश्यक निवदेन बन्दीप्रत्यक्षीकरण र महामारीसम्बन्धी मात्र सुनुवाइ गर्ने निर्णय गरेको थियो । गत चैत १८ गतेको पूर्ण बैठकले केही आंशिक काममा वृद्धि गरेको थियो । आजदेखि भने रिट निवेदन दर्ता र सुनुवाइसमेत शुरु गरेको छ । नेपाल बार एशोसिएशनले सोमबार आकस्मिक बैठक बसेर प्रेस विज्ञप्ति जारी गरी कानून व्यवसायी र सेवाग्राहीलाई आवागमनमा कठिनाइ हुने भन्दै सर्वोच्च अदालतको पूर्ण बैठकले गरेको निर्णयको विरोध गरेको थियो ।

प्रकाशित भएको : April 28th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु