विदेशमा नेपाली कलाकारको पीडा : के भन्छिन् पपगायिका नलिना चित्रकार ?


 

१८ साउन, बार्सिलोना। कुनै समय नेपाली पप गायनका एकछत्र राज गरेकी पप गायिका को हुन् ? भनेर प्रश्न गरियो भने सहज उत्तर हो नलिना चित्रकार। दुई दशक अघिदेखि विदेशमा गीत–संगीत प्रस्तुत गर्न हिँडेको उनको अनुभव छ। १२ वर्षबाट युरोपका विभिन्न मुलकहरुमा पुगेर गीत आएकी नलिनाको अहिले पाँचौंपटक युरोप आएकी छिन्।

त्यसो त उनी आफैं पनि विदेशिएकी छिन्। हाल परिवारसहित अमेरिकामा बस्दै आएकी नलिना मिस नेपाल युरोपको तयारीका लागि अहिले बेल्जियम आइपुगेकी हुन्।

उनको नजरमा पहिले-पहिलेका कार्यक्रमहरुमा छुट्टै चार्म थियो। दर्शकहरुको भीडभाड हुन्थ्यो। राम्रो रेसपोन्स मिल्यो। सबै नेपालीहरु आफ्नै कार्यक्रम सम्झन्थे। तर आजभोलि ती सबै परिवर्तन भएका छन्। विदेशमा कार्यक्रमहरुको स्तर निकै खस्किएको छ।

विदेशमा अहिले थुप्रै संघ–संस्थाहरु भए । एनआरएन ८० वटा मुलुकमा पुग्यो। हरेक देशमा राजनीतिक, जातीय क्षेत्रीय संघ–सस्थाहरु। जिल्लाको नाममा समाज मात्र होइन आजभोलि आफ्नै गाउँ, ठाउँ वा टोलका नाममा पनि संघसंस्थाहरु भए।

आजभोलि विदेशमा प्राय: नेवार समाजले नेवार कलाकारहरु डाक्ने,गुरुङ समाजले गुरुङ कलाकार, मगरले मगर डाक्ने। क्षेत्री समाजले क्षेत्री कलाकार बोलाउने। जिल्लाका नाममा खोलिएका समाजले आफ्नै जिल्लावासी कलाकार बोलाउने प्रचलन ह्ववातै बढ्यो। एक त कार्यक्रम आयोजना गर्नेसंस्थाहरुको बाढी नै।अर्को तर्फ चिनेजानको भरमा ल एकपटक विदेश घुमौं न भन्ने नाममा सामान्य स्तरका कलाकारहरु पनि विदेश आउँन थालेपछि कार्यक्रमहरुको स्तरमा ठुलै प्रभाव पर्न थालेको कतिपयको भनाइ छ।

दुई दशक अघि सन् १९९९ मा हङकङमा नलिनाको पहिलो कार्यक्रम थियो। तर, अहिले उनी नेपालीहरु पुगेका झन्डै सबैजसो मुलुकमा पुगिसकेकी छन्।कोरिया, कतार,जापान,मलेसिया,अष्ट्रेलिया,अमेरिका, क्यानडालगायत युरोपका थुप्रै मुलुकहरुमा पुगेर प्रस्तुति राखिसकेकी छिन्।

गायिका चित्रकारसँग हामीले पहिले र अहिलेका कार्यक्रमबारे जिज्ञासा राखेका छौं। प्रस्तुत छ कुराकानीको सम्पादित अंश:

पहिलो युरोपको सांगीतिक यात्राबारे सम्झना सुनाइदिनु न।
मेरो पहिलो विदेशको सांगीतिक प्रस्तुति २० बर्ष अघिको थियो। तर, युरोपमा पहिलो कार्यक्रम भने १२ बर्ष अघि। त्यतिबेला लण्डनमा पाँचवटा कार्यक्रमहरु थिए। हाम्रो टिम नै थियो,त्यो कार्यक्रम सकाएर यता बेल्जियम र फ्रान्समा पनि आयौं। त्यतिबेला कार्यक्रमहरुको छुट्टै चार्म हुन्थ्यो। दर्शकहरुको भिडभाड देखिन्थ्यो। राम्रो रेसपोन्स मिल्यो। पहिले-पहिले आयोजकहरु कम हुन्थे। एउटै कार्यक्रममा सहभागिता ठुलो हुन्थ्यो। क्राउड भएपछि नै हो कलाकारहरुलाई सबैभन्दा ठूलो हौसला मिल्ने। अनि पो जोशले भरिएका गीतहरु गाउन सकिन्छ।

पहिले पहिले कार्यक्रमहरुमा आकर्षण हुन्थ्यो भन्नुभयो, त्यसोभए आजभोलि त्यस्तो चार्म हुँदैन ?
आजभोलि संख्यात्मकरुपमा पहिलेभन्दा धेरै कार्यक्रमहरु हुन्छन्। पहिले बिशेष अवसरमा मात्र कार्यक्रमहरु हुन्थे। विदेश आउने कलाकारहरुको संख्या पनि न्यून हुन्थ्यो। तर, दर्शकहरुको उपस्थिति बाक्लो हुन्थ्यो। कलाकारहरुलाई राम्रो रेस्पोन्स पनि मिल्थ्यो। बिदेशी भूमिका नेपाली गीत संगीत सुन्दा सबैजना निकै उत्साहित हुन्थे। तर, आजभोलि कार्यक्रमहरुको स्तरमा कमी आएको महशुस हुन्छ। उपस्थिति पनि पहिले भन्दा घट्दै गएको पाइन्छ।

तपाईले रेस्पोन्सको कुरा पनि जोड्नुभयो, पहिले त्यस्तो के हुन्थ्यो ?
एक दशकअघिका अनुभव र घटनाक्रमहरु अलि फरक र सम्झना लायक लाग्दछन्। लण्डनकै अनुभव सुनाउछु। त्यतिबेला नविन के भट्टराई र मेरो कार्यक्रम थियो । कार्यक्रमको संयोजन हरेक दृष्टिकोणबाट उत्कृष्ट। सबै जाति धर्म पेशा केही नभनी नेपालीहरु बनेर दर्शकहरु सहभागी बन्थे। कलाकारहरुलाई निमन्त्रणा पनि त्यही रुपमानै हुन्थ्यो। आर्टिस्टलाई दिने सुरक्षा ।

फ्यानहरुसँग भेटघाट गर्न क्राइटएरिया छुट्टै हुन्थ्यो। यतिसम्म कि भिडभाडका कारण स्कटिङ गरेर लगेको अनुभव पनि छ। मैले कलाकारहरुलाई ठुलै भाउ पाउनुपर्छ भन्न खोजेको चाहिँ होइन। पहिले दर्शकहरुले कलाकारहरु भेट्दा पनि अचम्म मान्थे। उत्साहित हुन्थे। रेस्पोन्स अलग्गै मिल्थ्यो भन्नमात्र खोजेको हो।

तर, आजभोलि कलाकारहरु पनि घरमा, रेष्टुरेन्टमा जहाँपनि गीत गाइदिन्छन्। त्यसमाथि फेसबुकमा लाइभ हुन्छ। अलि हलुका भइदिनाले त्यस्तो भएको हो कि ?
हैन । मैले पनि त्यो कुरालाई नर्कादिनँ । सामाजिक सञ्जालमा जुन एक्सपोज भइरहेको छ नि, त्यसले कलाकारको क्वालिटी घटेको हो कि जस्तो मलाई लाग्छ । जतिसुकै राम्रो आर्टिस्ट भए पनि जहाँ पनि फेसबुक लाइभ गरिन्छ। घरमै हस्पिटालिटीको रुपमा कलाकारलाई बोलाउने। कोहिकोही आर्टिस्टले फेसबुक लाइभमा मज्जाले गीत गाइदिने गरिन्छ। त्यो लाइभ भएको हुन्छ,त्यसपछि त्यसको चार्म हुँदैन नि । आर्टिस्टलाई भेट्नका लागि जसरी रेक्सेपेक्ट गरिन्थ्यो, गीत सुन्नका लागि जुन चार्म थियो, त्यसमा असर पुग्छ। त्यसलाई कन्टोल गर्न सके राम्रो हुन्थ्यो। यसमा कलाकार पनि सचेत हुनुपर्छ।

खर्च गरेर कलाकार बोलाएका हुन्छन्। गीत नगाउँदा घमण्डी भनिदिने पो हो कि ? कलाकारको पनि बाध्यता छ कि?
हो, त्यो आयोजकहरुले बुझिदिनुपर्छ। कम्तिमा अवस्था हेरेर अनुरोध गरिदिनुपर्छ। कलाकारहरु जतिबेला पनि गीत गाउने मोडमा त हुँदैनन् नि । घरमा पुग्यो, पुग्ने वित्तिकै गीत भन्दिने । त्यसरी त रेस्पेक्ट हुँदैन। कहिलेकाहीँ कलाकारलाई बाध्यता पनि हुन्छ। अप्ठ्यारो पर्ने अबस्था आउँछ गाउँदा पनि नगाउँदा पनि । यसबारे सबै पक्ष सचेत हुनुपर्छ ।

बिदेशमा त थुप्रै संघसंस्थाहरु छन्। एनआरएन, राजनीतिक, जातीय अहिले त जिल्लैपिच्छेका क्षेत्रीय समाजहरु पनि छन् । कतिपय देशहरुमा त आफ्नै गाउँ, ठाउँ वा टोलका नाममा संघसंस्थाहरु पनि छन्। कार्यक्रम गर्दा आयोजकले आफ्नै टोलका कलाकारहरु बोलाइदिन्छन् । तपाईहरुको स्थान कहाँ देख्नुहुन्छ ?
तपाईको प्रश्न आफैमा गम्भीर छ। यो अहिलेको यथार्थ चित्रण पनि हो। बिभिन्न मुलुकहरुमा यसअघि नै पुगेको हुनाले मलाई व्यक्तिगत रुपमा त समस्या छैन। तर, अहिलेको अवस्थाले निरन्तरता पाउने हो भने भविष्यमा थुप्रै अग्रज तथा प्रतिभावान कलाकारहरु अबसरबाट बञ्चित हुनसक्छन्। मेरो यो भनाईलाई नकारात्मक रुपमा प्रस्तुत नगरिदिनुहोला।

तर, भन्नैपर्ने हुन्छ नेवार समाजले नेवार कलाकार डाक्ने, गुरुङले गुरुङ कलाकार, मगरले मगर डाक्ने। क्षेत्री समाजले क्षेत्री कलाकार बोलाउने हो भने हामी कता जान्छौं ? अझ राजनीति पार्टीले पनि त्यही अनुसार छुट्टाईदिने हो भने कलाकारमात्र होईन दर्शकहरुपनि छुट्टिन्छन्। तर, म आफैमा भाग्यमानी नै छु, त्यस्ता नमिठा अनुभवहरु खासै भोगेकी छैन। यहाँहरु सबैको माया र स्नेह पाएकी छु।

एकजना चल्तीकै गायक तथा संगीतकारको हालै युरोप भ्रमणको घटना हो। भब्य कार्यक्रम भनेर प्रचार गरियो। एउटा रेष्टुरेन्टमा आयोजना गरिएको कार्यक्रममा ४-५ जना मात्र दर्शकहरु मुश्किलले पुगे। अपमानित महशुस गर्दै उनले प्रस्तुति पनि राखेनन्। यस्तो घटनाले के देखाउँछ ?
हामी कलाकारहरुमा ठूलो पीडा छ। पहिला त कलाकारको आम्दानी एल्वम विक्रीबाट हुन्थ्यो। अहिले त्यो ठ्याप्पै भयो। कलाकारका लागि स्टेज कार्यक्रम एउटा मुख्य स्रोत बनेको छ। बिदेशबाट निमन्त्रणा आएपछि जो कोही पनि उत्साहपूर्बक नै आउँछन्।

मैले अघि नै भनें अहिले आयोजकहरु थुप्रै भए। एकै महिनामा थुप्रै कार्यक्रमहरु हुन थाले। यो कारणले पनि दर्शकहरु घट्न थाले। त्यसमाथि आफ्ना समाजका आ-आफ्नै कार्यक्रमहरु। यी विविध कारणले गर्दा पहिलेजस्तो अवस्था छैन। आयोजकले पनि ल ल ठिकै छ नि ४०, ५० जना भए पनि गर्दिउँ न भन्ने हुन्छ। त्यसैले यस्ता घटना तपाई हामी जो कोहीलाई पनि फेरि घट्ने खतरा छ। त्यसैले मुख्य कुरा कसले कार्यक्रममा बोलाउँदैछ, त्यो बारे पनि हामी सचेत हुनैपर्छ।

त्यसोभए पहिलेजस्तै भब्य कार्यक्रमहरु बनाउन तपाईको सुझाव।
पहिलो कुरा त अहिले पनि दर्शकहरु ह्ववात्तै घटे, कार्यक्रमहरुको क्रेज नै छैन भन्ने चाहिँ होइन। कतिपय कलाकार तथा ब्याण्डका कार्यक्रमहरु अझै पनि स्तरीय र उत्कृष्ट छन्। तर पनि यो साँचो हो कि धेरैजस्तो कार्यक्रमहरुको स्तर पहिलेजस्तो छैन।
पहिलो कुरा त आयोजकहरु एकजुट हुनुपर्यो। संघसंस्थाका छुट्टाछुट्टै कार्यक्रम हुँदा धेरै कलाकारहरुलाई अवसर मिल्नु एक अर्थमा राम्रो पनि होला। तर, धेरै कार्यक्रमहरु भइरहँदा राम्रो क्राउड पाउन गाह्रो पर्छ । क्वालिटी पनि हुँदैन। तसर्थ मेरो अनुरोध, विशेष किमिमका कार्यक्रमहरु हुँदा सबैले आफ्नो कार्यक्रम सम्झेर उपस्थिति भइदिनुपर्छ। कलाकारहरुलाई सबैको साझा ठान्नुपर्छ। आफ्नो भेगको, आफ्नो जातको भन्दा पनि माथि उठेर नेपाली कलाकारहरु भनेर सम्झिदिने हो भने फेरि चार्म त बढिहाल्छ नि।

अब तपाईका केही व्यक्तिगत कुरा पनि। अहिले त परिवारसहित अमेरिकामा बस्न थाल्नुभएको छ। देश विदेश जाने-आउने क्रम नै थियो। तर, कुन मोड आएपछि अमेरिकामा नै रहने सोच बनाउनुभयो ?
म चाहिँ सन् २०१० मा पहिलोचोटि अमेरिका गएकी थिएँ । त्यतिबेला मैले अमेरिका बस्छु, ग्रिनकार्ड लिन्छु भन्ने सोचेको थिइनँ। ठ्याक्कै मेरो साथी भेटेपछि यहाँ अर्पच्युनिटी छ भन्ने थाहा पाएँ। अमेरिका सरकारले आर्टिस्टलाई जुन क्याटागोरी छुट्टाएको छ, त्यसलाई मैले पनि सदुपयोग गरें। आर्टिस्टहरुको पनि पर्सनल लाइफ हुन्छ। कलाकार मात्र नभएर उसको सामान्य जिन्दगी पनि छ। आफ्ना लागि, परिवारका लागि पनि सोच्नुपर्ने हुन्छ। मेरो चाहिँ परिस्थितिजन्य भएको हो। आफूले पाएको अवसरलाई छोराको भविष्य देखेर सदुपयोग गरें। पोजेटिभ नै लिएर यसलाई अवलम्वन गरेको हो। तर, आफ्नो देश, आफ्नो माटोप्रतिको माया त हुन्छ नि, त्यो गरिरहेका पनि छौं।

एक समयकाचल्तीका कलाकारहरुले अहिले आएर नयाँ गीत निकाल्दा बजारमा खासै चर्चा बटुलेको भेटिँदैन। युट्युब भ्युज पनि धेरै नै कम देखिन्छ। सायद तपाईले पनि महशुस गर्नुभएकै होला। खास के कारणले हो जस्तो लाग्छ ?
यो त जेनेरेसन ग्याप हो नि त। अहिलेको जेनेरेसनमा युट्युबमा सबै काम आफैले गर्न मिल्छ। हाम्रो टाइममा त्यस्तो केही थिएन। हामीले त्यस्तो गरेनौं । तर, अहिलेका कलाकारले यी कुराहरु जान्नुहुन्छ । कसरी गर्ने कसरी भ्युअर बढाउने भन्ने। हामी त्यस साइटमा लाग्दै लागेनौं। पुरानै पारामा गइरहेका छौं। मैले पनि युट्युब च्यानल आफ्नै हिसाबले खोलेको छु। तर, त्यसलाई कसरी एक्स्पान्स गर्ने भन्ने मलाई आइरहेको छैन। सबैको आफ्ने फेज हुन्छ, मेरो चर्चित भएको फेजमा त्यतिबेला फेसबुक थिएन। केही पनि थिएन। तर, पनि चर्चा थियो। अहिलेजस्तो यहाँ जाँदैछु भन्ने लेख्ने ठाउँ थिएन।

अन्त्यमा, यसपटकको युरोपयात्रा खास बिशेष थियो ?
यसपालिको मेरो यात्रा अलिकति फरक नै थियो। त्योभन्दा पनि छुट्टै टिम मिलेर मिस नेपाल युरोप गर्ने कि भन्ने प्लानिङ गर्दैछौं। त्यसको पनि तयारी हुँदैछ। अझै राम्रोसँग प्लानिङ गर्न बाँकी छ। म्युजिकल सो त एक-दुईवटा छँदैछ। मैले अस्ति बेल्जियममा नेपाल फेस्टिफलमा प्रस्तुती राखे। इटालीको रोममा एनआरएनको युरोपेली भेलामा पनि सहभागी हुँदैछु। दुई चार वटा अन्य कार्यक्रमहरु पनि रहन्छन्।

नयाँ गीतको कुनै त्यस्तो सोच ?
नयाँ गीत नेपाल गएर निकाल्ने सोच बनाएकी छु। तीन\चारवटा गीतहरु कम्पोज भएका छन्। एल्वम निकाल्ने सोचमा छु। तर, यसो भनेको पनि धेरै भइसक्यो। तर, समयले अलि साथ दिइरहेको छैन। धेरै सोचेर अहिलेको जेनेरेशनलाई बुझेर नयाँ प्रस्तुति ल्याउने तयारीमा छु।

प्रकाशित भएको : August 4th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु