
काठमाण्डाै – झण्डै १० लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकी रहँदा सरकारले ‘मास प्रिन्टर’ भित्र्याएको छ ।
बुधबार दिउँसो मात्रै प्रिन्टर आइपुगेको यातायात व्यवस्था विभागले जनाएको छ । याे प्रिन्टर प्रयोगमा आउन डेढ महिनाजति लाग्ने विभागका प्रवक्ता तीर्थराज खनालले बताउनुभयो । प्रिन्टरको जडान, परीक्षणलगायतका काम सकिएपछि नियमित रुपमा सञ्चालनमा आउने उहाँले बताउनुभयो । विभागले मद्रास प्रिन्टर प्रालिमार्फत प्रिन्टर खरिद गरेको हो ।
‘स्मार्ट’ चालक अनुमतिपत्र वितरणमा रहेको ढिलाइ हटाउनका लागि ‘मास प्रिन्टर’ खरिद गरिएको उहाँले बताउनुभयो । प्रवक्ता खनालले भन्नुभयो, प्रिन्टरले नियमित रुपमा काम गर्न सुरु गरेपछि अहिले रहेको समस्या समाधान हुनेछ ।
सरकारले गएकाे वर्ष ग्लोबल बोलपत्रमार्फत प्रिन्टर खरिद प्रक्रिया अघि बढाएको थियो । प्रिन्टर खरिदका लागि तोकिएको अवधि अघिल्लाे महिनामा नै सकिएको थियो । तोकिएको अवधिमा प्रिन्टर नआएपछि आफूहरु ठेकेदार कम्पनीलाई नियमित रुपमा घचघचाइरहेको विभागले जनाएको छ ।
विभागमा रहेको मुद्रणयन्त्र ९छपाइ मेसिन० को क्षमताभन्दा धेरै कार्ड छाप्नुपर्ने भएकाले सेवाग्राहीले समयमा चालक अनुमतिपत्र नपाएको विभागले जनाएको छ । विभागमा अहिले नौ वटा उपकरण रहेका छन् । तीमध्ये छ÷सात वटाले मात्रै नियमित काम गरिरहेको प्रवक्ता खनालले बताउनुभयो । विभागले नयाँ वा नवीकरणका लागि परेका आवेदनबाट एक वर्ष वा त्योभन्दा पहिलेदेखिको कार्ड छाप्न बाँकी छ ।
सरकारले चार वर्ष पहिले ‘स्मार्ट’ चालक अनुमति शुरु गरेदेखि नै सेवाग्राहीले समयमै चालक अनुमतिपत्र पाएका थिएनन् । देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट परीक्षा उत्तीर्ण गरेकाको चालक अनुमतिपत्र छपाइ यातायात व्यवस्था विभागले गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस्