पूर्वराजासँग भेट गरेको पुष्टि गर नत्र माफी मागः उपप्रधानमन्त्री पोखरेल

Loading...
ताजा समाचार | प्रकाशित भएको : August 9th, 2019

काठमाडौँ – उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहसँग आफूले भेट गरेको पुष्टि गर्न चुनौती दिएका छन् । अन्यथा नैतिकता भए माफी माग्न पनि उनले चेतावनी दिएका छन्।

पोखरेलले निर्मल निवासमै गएर पूर्वराजा शाहसँग भेट गरेको विषयमा समाचार बाहिर आएको थियो । सामाजिक सञ्जालमा ट्विट गर्दै उपप्रधानमन्त्री पोखरेलले उक्त समाचार गलत रहेको दाबी गरेका हुन् ।

‘निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्र शाहसित मैले भेट गरेको र षडयन्त्रका तानाबाना बुनेको सनसनीख़ेज़ र शतप्रतिशत गलत समाचार छाप्ने केही ठूला छापाहरू , अनलाइनहरू तथा त्यसैमा केन्द्रीत रही विश्लेषण गर्ने विश्लेषकहरू प्रति खेद व्यक्त गर्दछु। पुष्टि गर नभए नैतिकता छ भने क्षमायाचना गर’, मन्त्री पोखरेलले बिहीबार राति ट्विटरमा लेखेका छन् ।

यस्तो थियो साँघु साप्ताहिकले छापेको समाचार

रक्षामन्त्री ईश्वर पोखरेल किन गए निर्मल निवास ?

काठमाडाैं, २० साउन ।
नेपालको मूलधारको राजनीतिक क्षेत्रले लगभग वहिष्कार गरेका पूर्व महाराजा ज्ञानेन्द्र शाहको महाराजगंजस्थित निर्मल निवासमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवार सम्हाल्नु एक दिन अगाडि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले २०७६ साउन १७ गते शुक्रबार बिहान अचानक प्रवेश गरेको चर्चा छ ।

रक्षासचिव रेश्मीराज पाण्डेलाई साथमा लिएर पूर्व महाराजा ज्ञानेन्द्र शाहको आवास निर्मल निवास प्रवेश गरेका हालका कार्यवाहक प्रधानमन्त्री पोखरेलले त्यहाँ लगभग डेढ घण्टा समय बिताएको हल्ला काठमाडौंमा ब्यापक छ ।

कुन प्रयोजनले रक्षा मन्त्रालय समेत सम्हालेका उपप्रधानमन्त्री पोखरेल रक्षा सचिवसहित प्रवेश गरेर निर्मल निवासमा डेढ घण्टासम्म बसे भन्ने स्पष्ट नभएपनि यो घटनाले नेपालको राजनीतिक क्षेत्रमा चर्चा पाएको छ । स्मरण रहोस् पूर्व महाराजा ज्ञानेन्द्रको आवास रहेको निर्मल निवास ईश्वर पोखरेलको निर्वाचन क्षेत्र पनि पर्दछ ।

यो घटनाका सम्बन्धमा आधिकारिक पुष्टी भने कतैबाट भएको छैन । प्रहरीका उच्च अधिकृतहरु भने रक्षा मन्त्री ईश्वर पोखरेल निर्मल निवास छिरेको थाहा छैन भन्छन् । रक्षा मन्त्री ईश्वर पोखरेल निकट स्रोतका अनुसार, महाराजा श्री ५ वीरेन्द्रको सम्पूर्ण जग्गा नेपाल ट्रष्टको सम्पत्ति भएकाले जग्गा खोज्ने सिलसिलामा रक्षा मन्त्री ईश्वर पोखरेल पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र शाहको निर्मल निवास पुगेको बताउछ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु