कक्षा ११ मा भर्ना भइन् नेकपा नेतृ शान्ता चौधरी


काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ तथा प्रतिनिधिसभा सदस्य शान्ता चौधरी ११ कक्षामा भर्ना भएकी छन् ।

यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तिर्ण गरेकी चौधरी काठमाडौंको बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा कक्षा ११ मा भर्ना भएकी हुन् ।

कक्षा ११ मा भर्नाका हुनका लागि चौधरी शुक्रबार विहान १० बजे नै रत्यराज्य मावि पुगेकी थिइन् । शान्तले दाङकै निलम थापाले पनि रत्नराज्य माविमा कक्षा ११ मा भर्ना गराएकी छन् ।

निलमको सम्पूर्ण पढाइ खर्च आफूले नै व्यहोर्ने शान्ताले जनाएकी छन् ।

११ कक्षामा भर्ना भएकी शान्ताले आफ्नो कक्षगत रोल नम्बर ६२ रहेको जनाएकी छन् ।

केही समयअगाडी प्रकाशित भएको शान्ता चौधरीको समाचार

एसईई पास भइन् शान्ता चौधरी : ल्याइन् २.६५ जीपीए

दाङ : प्रतिनिधिसभा सदस्य तथा नेकपाका सचेतक पूर्वकमलरी शान्ता चौधरीले माध्यमिक शिक्षा परीक्षा (एसइई) पास गरेकी छन्। १८ वर्ष कमलहरी बसेर पढ्न नपाएकी सांसद चौधरीले गत चैतमा एसईई परीक्षा दिएकी थिइन्।

सिम्बोल नम्बर ०५९९५४२ ‘यु’ रहेकी चौधरीले बी ग्रेडमा एसईई पास गरेकी हुन्। उनले २.६५ जीपीए प्राप्त गरेकी छन्। दाङको तुलसीपुरस्थित सेन्टर मावि केन्द्रबाट चौधरीले परीक्षा दिएकी थिइन्।

दाङको घोराही उपमहानगरपालिका ४ लक्ष्मीपुर निवासी ३८ वर्षीया सांसद चौधरीले बाल्यकालमा अरूको घरमा कमलहरी बस्दा पढ्न पाएकी थिइनन्। शान्ताले गाउँकै मावि गोग्लीमा दुई वर्षअघि कक्षा आठमा भर्ना गरेकी थिइन्।

शान्ताले तुलसीपुर उपमहानगरपालिका १२ स्थित महेन्द्र माध्यामिक विद्यालयमा कक्षा १० मा भर्ना भएर खुलातर्फबाट एसइई परीक्षा दिएकी हुन्।

सांसद शान्ता र उनकी १७ वर्षीया छोरी विनु चौधरीले एकै साथ एसईई दिएका हुन्। बिनुले काठमाडौंको आरुवारीस्थित सृजना बाल बोर्डिङबाट परीक्षा दिएकी हुन्। शान्ताका छोरा अनिल चौधरी जेभियर्समा कक्षा १२ मा अध्यनरत छन्।

पोखराबाट बिहीबार काठमाडौं जाँदै गरेकी शान्तले अन्नपूर्णसँग कुरा गर्दै भनिन्, ‘सोचेजस्तो भएन तर नतिजाले खुशी छु।’

‘परीक्षाको समयमा धेरै प्रचार भयो। तयारीका लागि धेरै मिहिनेत गरे पनि सोचेजस्तो नतिजा आएको छैन’, शान्ताले भनिन्, ‘तर, पनि असन्तुष्ट हुनुपर्ने नतिजा पनि छैन। खुशी छु।’यो उमेरमा एसईई पास भएपछि उनले आफूबाट अरुले सिक्न सक्ने बताइन्।

दाङमा ११ हजार ६ सय ७२ जनाले परीक्षा दिएका थिए। दाङबाट ४४ वटा केन्द्रबाट एसईई परीक्षा भइरहेको छ। यस वर्ष दाङका ९१ सामुदायिक र ९२ संस्थागत विद्यालय एसईई परीक्षामा सहभागी भएका थिए।

प्रतिकृया दिनुहोस्