सिटमा बसिसकेपछि नेपाल एयरलाइन्सले फिर्ता गर्दा दिनभर रोएँः चाँदनी जोशी


 

काठमाडौं । विदेशमा पनि उत्तिकै चिनिने र सुनिने नेपाली महिलामा पर्छिन् चाँदनी जोशी । उनै जोशी केही दिनअघि दिनभर घरमै रोएर बिताउनुपर्यो । कारण थियो– एउटा अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिन भारतको नयाँ दिल्ली जान लाग्दा अपमानजनक ढंगले आफ्नै देशको राष्ट्रिय ध्वजावाहकले विमानबाट ओरालेर फर्काउनु ।

बाह्रखरीसँगको कुराकानीमा उनले बुधबार बिहान भनिन्– ‘‘अघिल्लो दिन मेरो अक्सिजनलाई लिएर प्रश्न उठाइएकाले मैले टिकट भोलिपल्टको लागि सारेकी थिएँ । भोलिपल्ट चिकित्सकको प्रमाणपत्र लिएर छोरीसहित गएँ । अध्यागमन प्रक्रिया पूरा गरेर विमानमा चढेर सिट बेल्ट बाँधिसकेपछि मलाई ‘तपाईं जान मिल्दैन’ भनेर त्यहाँबाट ओरालियो । आफ्नै देशको एयरलाइन्सले एकजना वृद्धालाई यसो गर्दा साह्रै दुःख लाग्यो । राम्रोसँग खुट्टा पनि टेकिएन । घर आएर दिनभरी रोएर बसेंँ ।’’

गएको अगस्ट ३० तारिखका दिन जोशी नेपाल एयरलाइन्सको फ्लाइट हुँदै काठमाडौंबाट नयाँ दिल्ली जान लागेकी थिइन् । युनिफेमकी क्षेत्रीय निर्देशक रहिसकेकी उनले जीवनमा ५४ वटा मुलुकको भ्रमण गरिसकेकी छन् । तर, यसरी उनले कहिँ पनि नमिठो अवस्था व्यहोर्नुपरेको थिएन । उनले भनिन्, ‘‘तर, आफ्नै देशमा यस्तो व्यहोर्नु पर्यो ।’’

जोशीले आफूलाई बिनाकारण फिर्ता गर्न लागेको हुँदा क्याप्टेन विजय लामासँग कुरा गर्ने अडान राखे पनि सफल हुन नसकेको बताइन् । एयरलाइन्सका कर्मचारीले ‘तपाईँले क्याप्टनेलाई किन भेट्ने ?’ भन्दै हेप्न खोजेको उनले बताइन् । उनले भनिन्, ‘‘हामीजत्तिको केही बुझेकालाई त यस्तो छ भने अरुलाई कस्तो व्यवहार गरिन्छ होला ?’’

क्याप्टेन लामालाई यसबारेमा बाह्रखरीले जिज्ञासा राख्दा आफूलाई सो घटनाबारेमा जानकारी नै नभएको बताए । उनले भने, ‘‘भोलिपल्ट उहाँहरु जाने प्रयासमा हुनुहुँदो रहेछ । मैले उहाँलाई मिलाइदिनू भनेर गएको थिएँ । तर, कसरी उहाँ रोकिनुभयो, मलाई जानकारी भएन ।’’

उनी साउथ एसिया वुमन्स नेटवर्क (स्वान) को दिल्लीमा हुन लागेको सम्मेलनमा प्रमुख वक्ताको रुपमा जान लागेकी थिइन् । उनी नेपालमा महिला सशक्तिकरण र महिलाको मानवअधिकारको विषय उठाउने प्रमुख व्यक्तिका रुपमा समेत चिनिन्छन् ।

उनले यसअघि पोर्टेबल अक्सिजन लिएर थाइल्याण्ड, मंगोलिया, दक्षिण कोरियालगायतको भ्रमण गरेकी थिइन् । तर, सोही अक्सिजनलाई अहिले भने गएको मे महिनामा नै म्याद सकिएको भनेर उनलाई विमान चढ्नै रोकिएको थियो ।

‘‘त्यही अक्सिजन लिएर मैले मे महिनाभन्दा पछाडि विभिन्न मुलुकको भ्रमण गरेकी थिएँ । तर यसपालि आफ्नै मुलुकको राष्ट्रिय ध्वजावाहक चढेर जान रोकियो । २६ वर्षसम्म मैले विभिन्न निकायमा रहेर देशको सेवा गरेँ । विदेशी मञ्चमा गएर पनि मुलुकको प्रवर्द्धन गर्न भूमिका खेलेको छु । तर, मलाई नै यसरी अपमान गरियो र महत्वपूर्ण कार्यक्रममा जान दिइएन । भारतमा म आउने भनेर कार्यक्रममा पनि भनिएको रहेछ । तर जान नदिइएपछि मेरो मात्रै होइन, बाहिर पनि यस्तो कारणले रोकियो रे भन्दा देशकै बेइज्जत हुने अवस्था उत्पन्न भएछ ।”

भारत जान लाग्दा उनलाई उड्न लागेपछि रोकिएको बारेमा आफूलाई कुनै जानकारी नभएको क्याप्टेन लामाले दोहोर्याए । के कारणले यस्तो भयो, निगमको विमानस्थल प्रशासनलाई नै जानकारी हुने उनले बताए ।
चाँदनीलाई अध्यागमनको प्रक्रिया पूरा गरेर गइसकेपछि ‘फिट टु फ्लाई’ सर्टिफिकेट आउटडेटेड भनेर रोकिएको थियो ।

पहिलो दिन रोकिएपछि उनी भोलिपल्ट बिहानको आरए २०५ को फ्लाइटमा उड्न लागेकी थिइन् । उनी चिकित्सकको प्रमाणपत्रसहित पुगेकी थिइन् । तर उनलाई ‘क्याप्टेन विजय लामाको नाम लिएर‘ यस्तो केशमा अनुमति नदिनू’ भन्दै रोकिएको जनाएकी छन् ।

यसबारेमा क्याप्टेन लामासँग कुरा गर्दा उनले आफूलाई त्यस बारेमा केही थाहा नै नभएको भन्दै दुःख व्यक्त गरेका थिए । जोशीले भनिन्, “मैले क्याप्टेन लामालाई चिनेको हुँदा उहाँसँग कुरा गर्छु भनेकी थिएँ । तर, तपाईँ किन क्याप्टेनसँग कुरा गर्ने भन्दै ? विमानबाट ओरालियो ।’’

व्यवहार साह्रै रुखो भएकोले आफूलाई सहन पनि गाह्रो भएको उनले बताइन् । आफूले थुप्रै यात्रा गरेको तर यस्तो अपमानजनक व्यवहार कहिल्यैपनि व्यहोर्नु नपरेको चाँदनीको भनाइ थियो ।

आफूलाई आफ्नो अक्सिजन लैजान नदिइएको र दिल्ली पुग्दासम्मको घण्टाको ६०० डलर तिरेर एयरलाइन्सबाट नै अक्सिजन लिन सक्ने भनिएको जनाउँदै चाँदनीले भनिन्, ‘‘विमानबाट ओर्लेपछि पनि मलाई अक्सिजन चाहिन्थ्यो । आफ्नै भइरहेको अक्सिजन लैजान नपाउँदा आफूलाई अप्ठेरो परेकोले कार्यक्रममा नै गइनँ ।”

उनी गएको कार्यक्रममा नेपालका केही अधिकारकर्मी महिला पनि गएको भए पनि कतिले उतै पुगेपछि चाँदनी जोशीलाई रोकिएकोमा आश्चर्य प्रकट गरेका थिए ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई पनि ट्विटरमा जोशीलाई विमानस्थलमा रोकिएको प्रसंगमा प्रश्न उठाएकी थिइन् । त्यस्तै निर्वाचन आयोगकी पूर्वसदस्य इला शर्माले पनि मन्त्री भट्टराईलाई सो विषयमा कुरा उठाएकी थिइन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को नियम अनुसार नै अक्सिजनको कुरा उठेको हो भने थाइ एयरवेजलाई चाहिँ सो नियम नलाग्ने नेपाल एयरलाइन्सलाई मात्रै कसरी त्यो नियम लागू हुन्छ भनेर समेत उनीहरुले प्रश्न उठाएका छन् । उनी हालैमात्रै सोही अक्सिजन लिएर थाइ एयरवेजबाट उडान गरेको जनाइएको छ ।

जोशी युएन डेभलपमेन्ट फन्ड फर वुमन (युनिफेम)का क्षेत्रीय कार्यक्रम निर्देशक भइसकेकी महिला हुन् । सन् १९४६ मा पाल्पा जिल्लामा जन्मेकी उनी १३ वर्षको हुँदा काठमाडौं आएकी थिइन् ।

१९६५ मा शिक्षा पूरा गरेपछि उनले पद्मकन्या क्याम्पसमा अंग्रेजी विषय पढाउन थालेकी थिइन् । उनले १९६८ मा मोहनराज जोशीसँग विवाह गरेकी थिइन् । १९७१ मा उनी पद्मकन्या क्याम्पसमा नै अंग्रेजी विभागको प्रमुख भएकी थिइन् ।

पछि उनी सन् १९७५ मा सरकारका तालिम सामग्रीमा सम्पादकको रुपमा गृह मन्त्रालयमा प्रवेश गरेकी थिइन् । उनी १९८१ मा सहसचिव पनि भइन् । उनी १९९० मा युनिफेमको क्षेत्रीय निर्देशक भएकी थिइन् । कूटनीतिक र महिला अधिकारको क्षेत्रमा उनको योगदानलाई नेपालमा मात्रै होइन, विदेशमा पनि महत्वपूर्ण रुपमा लिइने गरेको छ ।

अन्तिम पटक अपडेट गरिएको : December 25th, 2019,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु