सामाजिक बहस : पतिलाई ढोग्ने कि अंकमाल गर्ने ?


 

यो वर्षको तीज सकियो । तर, यसपटकको तीजले सामाजिक सञ्जालमा केही सामाजिक बहस छाडेर गएको छ । योपटक पत्रकार ऋषि धमलाकी श्रीमतीले खुट्टा धोएको, पानी खाएको र ढोगेको भिडियो र फोटो समाजिक सञ्जालमा भाइरल बन्यो । यो भिडियो र तस्वीरका विषयमा केहीले बहस चलाए । धेरैले चियागफका रुपमा उडाए ।

त्यसैगरी, पूर्वपत्रकार एवं साझा पार्टीका संयोजक रवीन्द्र मिश्रको तीजसम्बन्धी स्टाटसले पनि सामाजिक सञ्जालमा चर्चा पायो ।

तीज सकिएसँगै यसको चर्चा सकियो, जुन सामाजिक सञ्जालको चरित्र पनि हो । तर, मेरो विचारमा कुनै कुरा उठेपछि यो यत्तिकै सकिनुहुँदैन । कुनै मुद्दा उठेपछि बैद्धिक वर्गमा यससम्बन्धी सार्थक बहस हुनुपर्छ ।

एकथरिको कुरा छ, यो ऋषि धमलाको व्यक्तिगत कुरा हो । उनी र उनकी श्रीमतीले आफ्नो फेसबुकमा आफूलाई उचित लागेको तस्वीर पोष्ट गर्न सक्छन् । उनीहरुले त्यही गरे, जुन समाजमा युगौंदेखि चलेको छ र आगामी धेरै वर्षसम्म चलिरहनेछ ।

मायामितु न्यौपाने
कुनै सामग्री पोष्ट गर्नु ठूलो कुरा होइन । कसैको व्यक्तिगत रुचि, चाहना र स्वतन्त्रताको कुरा पनि हो । ढोग्नु भनेको आदर गर्नु, सम्मान गर्नु हो । यो हाम्रो पूर्वीय सभ्यता पनि हो । तर, व्याख्या गलत गर्नुहुँदैन भन्ने मात्र हो ।

हाम्रो समाजमा आमाबुबाले छोरीचेलीको खुट्टा ढोग्ने चलन छ । मामाहरुले भाञ्जा भाञ्जीको खुट्टा ढोग्ने चलन छ । त्यो छोरी-चेलीप्रतिको सम्मान हो । मेरी हजुरआमाले विहान उठ्ने बित्तिकै हजुरबुबाको खुट्टा ढोग्नु हुन्थ्यो, अनि मात्र घरको अन्य काम गर्नु हुन्थ्यो । सायद मेरी हजुरआमाको पुस्ता प्रायः सबैले यस्तै गरे होलान् ।

मेरी हजुरआमा भन्नुहुन्थ्यो, ‘राति सुत्दा लोग्नेलाई खुट्टा लाग्ने भएकाले भोलिपल्ट त्यसको पाप कटाउन ढोग्ने गर्नुपर्छ । हजुरबुबाका मैला र पटपटी फुटेका खुट्टा सम्झेर मलाई अहिले पनि कस्तो-कस्तो लाग्छ । मेरी हजुरआमाले कसरी दिनहुँ ती गन्हाएका खुट्टा ढोग्नुभयो होला ? धन्य मेरी हजुरआमा ! हजुरआमाले पाप कटाउन खुट्टा ढोगेको कुरा त्यतिबेला मैले बुझिनँ । अहिले के भन्नुभएको होला भनेर खोजी गरें र खुट्टा ढोग्ने प्रथा कसरी चल्यो र यसको विकास कसरी भयो भन्ने बुझ्ने कोसिस गरें ।

पूर्वीय दर्शन अनुसार खुट्टामा ढोग्नु आफूले आदर गर्नुपर्ने व्यक्ति, बुवाआमा आदिलाई सम्मानस्वरुप गरिने हो । यसरी ढोग्दा ढोग्ने व्यक्तिको घमण्ड, केही हदसम्म भए पनि कम भएको हुन्छ । जसले स्वयम्लाई खुशी बनाउन केही मद्दत गर्छ । त्यसै पनि शीर झुकाउनु भनेको झुक्नु नै हो । त्यसैले जसलाई ढोगिन्छ, ऊप्रति सम्मान र आदरभाव पक्कै बढ्छ नै । त्यसैले ढोग गर्ने चलन हाम्रो देश वा समग्रमा पूर्वीय सभ्यतामा चलेको हुनुपर्छ ।

देशको विकास भनेको भौतिक पूर्वाधारको मात्र विकास हुनु होइन, सबैभन्दा ठूलो कुरा देशको कला, साहित्य र संस्कृतिको विकास हो जस्तो लाग्छ ।

खुट्टा ढोग्नु आफैँमा नराम्रो कुरा पनि होइन । पहाडे समुदायमा आमाबुबाले छोरी चेलीको खुट्टा ढोग्ने चलन छ । तर, मधेसी समुदायमा छोरीले आमाबाबुको खुट्टा ढोग्ने चलन छ । हाम्रो परापूर्व कालदेखि चली आएको संस्कार भन्दा त्यसले पार्ने प्रभाव विषयमा सोच्नु अहिले आवश्यक छ जस्तो लाग्छ । आमाबुबाले छोरीलाई, तथा मामा माइजूले भाञ्जा भाञ्जीलाई ढोगेकोमा अहिलेसम्म कसैले पनि विमति जनाएका छैनन् ।

मेरी आमाले सधैं भन्नुहुन्थ्यो म छोराको बिहे गरेपछि बुहारीलाई खुट्टा ढोगाउदिनँ । बिहेपछि के गर्नु हुन्थ्यो । तर, छोराको बिहे नभई आमा बित्नुभयो । अरुले ढोग्नु र श्रीमतीले श्रीमानलाई ढोग्नुमा के फरक छ त ? सायद मानव जीवनमा अर्धनारेश्वर भनेको अर्थले पनि एउटा सिङ्गो मानव हुनमा महिला र पुरुष दुवै सहभागी हुन्छन् । एक रथका दुई पाङ्ग्रा । एउटा पाङ्ग्रा विना रथ चल्न सक्दैन । त्यस्तै विवाहित जीवन र पारिवारिक जीवनमा पनि एक विना अर्को अधुरो अपुरो हुन्छ ।

तीजमा पुरुष शिवजी हुन् भने दशैंमा हामी महिला पनि त दूर्गा माता हौं नि । खै त हामीप्रति आदारभाव ?

जीवनसाथी त आफू बराबर पो हुन्छ । उतिकै भागिदार पो हुनुपर्छ, हैन र ? यो कुरा सत्य हो भने श्रीमतीलाई खुट्टामा ढोगाएर उसबाट सम्मान पाइन्छ त ? आमाबुबा, गुरु मान्यजनलाई ढोग्नु आफ्नो ठाउँमा छ । तर, श्रीमानलाई ढोग्ने संस्कार नै भए पनि मलाई यो संस्कार जायज लाग्दैन । किनकि महिला र पुरुष जीवनका बराबर हिस्सा हुन् ।

एकातिर महिलालाई दुर्गादेवी पनि भन्ने, अनि अर्कोतिर पाप कटाउन र संस्कार भन्दै महिलाले श्रीमानको खुट्टा ढोग्नुपर्ने ? यदि यस्तो हो भने जसरी महिला तीजमा भगवान शिवजी भन्दै निराहार व्रत बसेर श्रीमानको खुट्टाको पानी खाएर ब्रत फुकाउँछन् ।

त्यस्तै विजया दशमीमा दुर्गा भवानी भनेर महिलालाई पूजा गरिन्छ । तर, त्यतिबेला कुनै पनि पुरुषले महिलालाई सम्मान गरेको पाइँदैन त । यसको अर्थ यो होइन कि त्यो दिन पुरुषले महिलाको खुट्टा ढोग्नुपर्छ । कमसे कम माया प्रेम, अंकमाल त गर्न सकिन्छ नि । त्यति पनि गरेको पाइँदैन कतिपय अवस्थामा ।

यो वर्ष पनि तीजको हाराहारीमा पूर्वपत्रकार तथा साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले लेखेको स्टाटसले पनि राम्रै्र प्रतिक्रिया पायो । उनले विगत ७/८ वर्षदेखि वर्षमा एक दिन भए पनि तीजमा झुक्काएर भए पनि श्रीमतीको खुट्टा ढोगेर दिनको सुरुवात गर्ने गरेको लेखेका थिए । तर, आखिर उनले पनि सहज तरिकाले त गर्न सकेनन् । तीजमा व्रत बस्दैमा लोग्नेको खुट्टाको पानी खानुपर्छ भन्ने संस्कारले पनि हामी महिलालाई अझै कमजोर बनाएको छ कि ? जबसम्म हामी महिलाले पतिलाई पति परमेश्वर भन्न छाड्दैनौं, तबसम्म हामी अगाडि बढ्न सक्दैनौं ।

तीजमा पुरुष शिवजी हुन् भने दशैंमा हामी महिला पनि त दूर्गा माता हौं नि । खै त हामीप्रति आदारभाव ?

धार्मिकरुपले अझै पनि हामीले रुढीवादी परम्परा अगाली रहने त ? श्रीमतीले ढोगेको कुरा बाहिर आयो । यदि यही ठाउँमा अत्यन्तै सम्मानका साथ कुनै श्रीमानले ढोगेको भए जोइटिङ्ग्रे भन्ने आरोप पनि आउन सक्थ्यो । कसैलाई रहर नै हुन्छ या कसैको बानी परिसकेको हुन्छ । कसैले श्रीमानले पर्दैन भन्दा भन्दै पनि जबरजस्ती ढोगेको पनि देखिकी छु । कसैका श्रीमानले बिहानको पूजा सकेपछि ढोग्नुपर्छ भन्दै खुट्टा उचालेर ढोग्न दिएको पनि यही समाजमा देखिकी छु । कसैले आफ्नो व्यक्तिगत खुशीका लागि ढोग्छु भनेर पनि प्रतिक्रिया दिएको सुनेकी छु ।

यही विषयमा सामाजिक सञ्जालको फोटो हेरेर मेरा पुरुष सहकर्मी साथीले मलाई तपाई त ढोग्नुहुन्न होला है भनेर प्रश्न गर्नुभयो । संगै रहेकी अर्की विवाहित महिला सहकर्मीलाई चाहिँ तपाई ढोग्नुहुन्छ नि भनेर सोध्नुभयो । मेरी महिला सहकर्मीले टाउको निहुरियाएर अँ भन्ने जवाफ मात्र दिइन् । मैले चाहिँ हाम्रो संस्कार हो, ढोग्नु नढोग्नु भन्दा पनि त्यो कति सम्मानजनक छ र हाम्रा सांस्कृतिक परम्पराहरुमा परिमार्जित गर्न कति आवश्यक छ त्यो सोच्नुपर्छ भनें । उहाँले बढो गर्वका साथ त्यो त हाम्रो संस्कार हो नि भन्नुभयो ।

मलाई अचम्म लाग्यो, सचेत व्यक्तिहरुको सोच त यति कमजोर छ भने हाम्रो समानताको लडाइँ त युगांैसम्म चल्ने रहेछ भन्ने लाग्यो । सञ्चार क्षेत्रमै काम गर्ने पुरुष साथीले त खुट्टा ढोग्ने होइन, आउ हामी अंकमाल गरौं र माया प्रेमलाई अझै बलियो र प्रगाढ बनाउ भन्ने सक्दैनन् भने अरुबाट हामीले कतिसम्म अपेक्षा गर्न सक्छौं ?

जसले समाजको कुरीति, कुसंस्कार, हिंसालगायत समाजका राम्रा नराम्रा सबै कुरालाई प्रकाशमा ल्याएर समाजलाई सुसूचित गर्ने काम गर्छ, उसको मानसिकतामा उही परम्परावादी सोचले डेरा जमाएर बसेको छ भने अरुको के कुरा ?


कसैले कसैको खुट्टा ढोग्नु पर्दैन, एकले अर्काको सम्मान गरौं । र, यसको सुरुवात तपाई हामीले गरौं त्यसैले हामीले परिवर्तनका कुरा गरिरहँदा सर्वप्रथम हाम्रै आफ्नै सोच र मानसिकता परिवर्तन गर्न आवश्यक छ ।

मैले पनि आफ्नो श्रीमानलाई एक/दुईपटक ढोगेकी छु । तर, एक दिन काठमाण्डौंमा साहित्यकार दाहाल यज्ञनिधिले हाम्रो शीर भनेको सधैं उच्च हुन्छ, कहिल्यै झुकाउनुहुन्न भन्ने वाक्यले मलाई छोयो र त्यो दिनदेखि मैले ढोग्न छाडें ।

हुन त हाम्रो शरीरका सबै अंग उत्तिकै महत्वपूर्ण छन् र सबै बराबर छन् । तर, पनि शीर भनेको शीरै हो जस्तो लाग्यो र त्यो दिनदेखि कहिल्यै ढोगिनँ ।

यो वास्तवमा धर्ममा महिलामाथिको दासत्व लाद्ने पराकाष्ठाको एक नमूना मात्रै हो । धर्ममा जे लेखिएको हुन्छ, त्यही पालना गर्न बाध्य छौं हामी । जसलाई नर्कान सजिलै सकेका छैनौं । जसले जे भने पनि दासत्व, परम्परावादी कुसंस्कार र संकीर्ण विचारले सभ्य समाजको वकालत गर्दैन ।

अरुलाई आघात नपर्ने गरी सबैलाई सबै कुरो गर्ने अधिकार छ । प्रथा, परम्परा समाजमा त्यतिकै विद्धमान भएका होइनन् । तर, गलत संस्कार र परम्पराको विरोध गर्न तपाई हामी सक्षम हुनु पर्छ । अहिलेका दिदी बहिनीहरु सक्षम छन् । आफ्नो खुट्टामा आफैं उभिन सफल भएका छन् । शिक्षित छन् । घर, परिवार मात्र होइन, समाज र देश बुझेका छन् । विदेशको अनुभव पनि संगाली सकेका छन् ।

तर, तपाई अविवाहित हुनु हुन्छ, चाँडै विवाह गर्दै हुनुहुन्छ । विवाहपछि के तपाई श्रीमानको खुट्टा ढोग्नुहुन्छ ? यदि श्रीमानको आयु बढ्छ भन्ने अन्ध परम्परामा लागेर ढोग्ने सोचमा हुनुहुन्छ भने त भन्नु केही छैन । नत्र जीवनमा दुवैको उत्तिकै महत्व हुन्छ । एकले अर्कालाई सघाउने र सबै काम मिलेर गर्ने हो । न कि ढोग्ने । हाम्रा कतिपय संस्कृति राम्रा हुँदाहुँदै पनि कति परिमार्जन गर्न आवश्यक छ । त्यसैले कसैले पनि कसैको खुट्टामा ढोग्नु हुँदैन । माया साट्नुपर्छ । सदभाव बाँड्नुपर्छ । अंकमाल गर्नुपर्छ । हात मिलाउनुपर्छ । आँखा जुधाउनुपर्छ । तर, यो झुक्ने र झुकाउने काम गर्नुहुँदैन ।

हाम्रो भावी पुस्ताका लागि पनि यस्तो काम हामीले गर्नु हुँदैन । ढोग्दै र ढोगाउँदैमा कोही ठूलो हुँदैन । कसैले कसैको खुट्टा ढोग्नु पर्दैन, एकले अर्काको सम्मान गरौं । र, यसको सुरुवात तपाई हामीले गरौं । भावी पुस्ताका लागि पनि समानताका लागि ढोग्ने र ढोगाउने काम नगरौं । आफ्नो जीवनसाथीप्रति हृदयदेखि नै माया र सम्मान गरौं । यदि यसो गर्‍यौं भने कु-संस्कारहरु आफैं हट्दै जान्छन् ।

प्रकाशित भएको : September 7th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु