भारत र चाइनाका स्याउ नेपाली बजारमा बिक्छ, नेपालको स्याउ एक रुपैयाँमा ३ दाना, नबिकेर बस्तुलाई कुँडो


 

बाजुरा : स्वामीकार्तिक खापर गाउँपालिका-३ जुकोटका महेन्द्रबहादुर शाहीको बारीमा १२ सय बोट स्याउ छन् । उनले स्याउखेती गर्न थालेको १५ वर्ष भयो । बारीमा लटरम्म स्याउ फल्छ। बजार नपाउँदा स्याउ खेर गइरहेको छ। उनले एक रुपैयाँमा तीन दाना दिने गरेका छन्। गाउँपालिकाले भने किलोको १५ रुपैयाँ निर्धारण गरेको छ। उनले भने, ‘बारीमा आएर किलोमा कोही किन्दैनन्। दानाकै हिसाबले बेच्छु।’

लाखौं मूल्यको स्याउ खेर जाने उनले बताए। उनले भने, ‘किन्न कोही आउँदैन। बजार निकै टाढा छ। भरियालाई बोकाएर पुर्‍याउन सकिँदैन। स्याउ बस्तुभाउलाई कुँडो बनाएर खुवाउनुपरेको छ।’ गाउँपलिकाबाट भारी बोकेर कोल्टी बजारसम्म पुग्न दुई दिन लाग्छ। कोल्ड स्टोर निर्माण र स्याउका अन्य परिकारबारे तालिम पाए केही सहज हुने अर्का किसान अनिल शाही बताउँछन्।

महेन्द्रको जस्तै हिमालको नजिकका गाउँका दुई सय भन्दा बढी किसानसँग स्याउको बगैँचा छ। प्रत्येक परिवारको बारीमा तीन सय भन्दा बढी स्याउका बोट छन्। सबैको समस्या बजारकै छ।

बाजुरको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोट, सोही गाउँपालिका १ र २ साप्पाटा हिमाली गाउँपालिका धिम, पाडी, जगन्नाथ गाउँपालिका साविकको जगन्नाथ गाविस क्षेत्र र बुढिनन्दा नगरपालिकाकाको साविकको पाण्डुसेन गाविसमा अत्याधिक मात्रामा स्याउ फल्छ।

त्यस क्षेत्रमा स्याउ फलाउन सरकारी तथा गैरसरकारी संस्थाहरुले गरेको खर्चको एकीन डाटा छैन। किसानहरुले हौसलाका साथ स्याउ फलाए तर बजार नपाएर समस्यामा परेको गुनासो गरेका छन्।

स्वामीकार्तिक गाउँपालिका र जिल्ला कृषि ज्ञान केन्द्रले स्याउको ग्रेड निर्धारण गरेको छ। राम्रो ग्रेडको स्याउको मुल्य किलोको १५ रुपैयाँ निर्धारण गरिएको छ।

त्यही १५ रुपैयाँ पनि किसानलाई बढी लागेको छ। ‘एक रुपैयाँ एक दाना त कोही किन्दैनन्, १५ रुपैयाँ किलो त महँगो नै भयो नी, ४/५ दानामा किलो भई हाल्छ’ किसान गजुर शाहीले भने। जुकोटमा मात्र २ सय भन्दा बढी परिवारले स्याउ खेती गरेका छन्।

किसानहरुले वर्ष दिनमै फल दिने कल्मी स्याउहरु लगाएका छन्। गाउँपालिका अध्यक्ष चिरन्जीबी शाहीले भने, ‘सानो बोटमा पनि लठरम्म फल्ने गरेका स्याउको बजार छैन, गाउँमा यातायात नै नभएकाले किसानहरु निरास छन्।’

प्रकाशित भएको : September 9th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु