सर्वसाधारणका लागि सुन बजार : किन्दा सुन, बेच्दा गुन्‍द्र‍ुक


फाइल तस्विर ।
 

विष्णु बेल्वासे

सुनको मूल्य बढेको मौका छोपेर बाफलकी लक्ष्मी पौडेल सुनका गहना बिक्री गर्न न्युरोड पुगिन्। सुन पसलेले जर्तीबाहेक बजारमा चलेको सुनको भाउभन्दा प्रतितोला चार हजार कममा दिए खरिद गर्ने बताए। उनी एकैछिन अक्क न बक्क भइन्।

आइतबार बजारमा प्रतितोला ७१ हजार ५ सयमा कारोबार भएको थियो। त्यसभन्दा चार हजार कम मूल्यमा प्रतितोला ६७ हजार ५ सयमा बिक्री गर्न राजी भइन्। त्यो मूल्यमा पनि जर्ती र ज्यालाको पैसा पनि कटाइयो।

एक तोलाको सुनको मूल्य ७१ हजार ५ सय, गहना बनाउन (मेकिङ चार्ज) भनेर त्यसमा चार÷पाँच हजार थप जोडिन्छ। यो हिसाबले एक तोला सुनको गहना किन्न करिव ७५ हजार तिर्नुपर्ने हुन्छ।

तर, त्यही सुनका गहना बिक्री गर्दा भने ६५ हजारभन्दा बढी नपाउने स्थिति छ। पुरानो गहना भन्दै चलेको सुनको मूल्यभन्दा प्रतितोला ४ हजार कम, त्यसमा पनि बनाएको चार्ज कटाइन्छ। अनि जर्तीको मूल्य पनि दिइँदैन।

केही महिनाअघि प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको सुन बढेर ७१ हजारभन्दा बढी पुगेपछि सुन बिक्री गर्ने बढेका हुन्। सुन किन्न आउनेभन्दा बिक्री गर्ने बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए।

‘सुनको मूल्य बढ्यो भनेर के गर्नु,’ लक्ष्मीले भनिन्, ‘सुनको एक तोलाको गहना किन्दा ७५ हजार तिर्नुपर्छ। त्यही बिक्री गर्न जाँदा ६५ हजार पाउन मुस्किल हुन्छ।’ उनले सुन बिक्री गर्ने दुब्लाउँदै जाने र किन्ने मोटाउँदै जाने गरेको रहस्य खुलाइन्।

लक्ष्मी मात्र होइनन्, उनको जस्तै दुखेसो छ बालाजुकी रविता थापाको पनि। ‘सुन किन्दा सुनको भाउमा किन्नु पर्छ बिक्री गर्दा गुन्दुकको जस्तै भाउमा,’ उनले भनिन, ‘न्युरोडमा सुन पसलको बिस्तार हेर्दा पनि सुनबाट कति नाफा हुन्छ भन्ने सहज रुपमा अनुमान लगाउन सकिन्छ।’

न्युरोडमा ५÷६ वर्ष पहिला सुन पसले सीमित मात्र थिए। अहिले जताततै सुन पसलबाहेक अरु देखिन छाडेका छन्। ‘सुन पसलबाट आम्दानी बढी हुने भएकाले एकै परिवारले धेरै पसल खोल्दै आएका छन्,’ रविताले भनिन, ‘सुन पसलेलाई बिक्री गर्दा पनि फाइदा, खरिद गर्दा झनै फाइदा हुन्छ।’ उनले पनि लक्ष्मीले जस्तै सुन खरिद र बिक्री गर्दाको पसलेले लिने कमिसन र त्यसबाट उपभोक्तालाई हुने नोक्सानीको फेहरिस्त प्रस्तुत गरिन्।

सुन बिक्री गर्दा कुल लागतको १५ प्रतिशतसम्म नोक्सानी हुने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यको दाबी छ। ‘सुनका गहनाको प्रकृति हेरि बढीमा कुल लागतको १५ प्रतिशत नोक्सानी बिक्री गर्नेलाई हुन्छ,’ उनले भने, ‘सुन बनाउँदा लाग्ने ज्याला र जर्ती पूरै जान्छ त्यसका अलावा सुन रिफाइनिङ गर्दा लाग्ने लागत १ देखि २ प्रतिशत काटिन्छ।’

केही महिनाअघि प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको सुन बढेर ७१ हजारभन्दा बढी पुगेपछि सुन बिक्री गर्ने बढेका हुन्। सुन किन्न आउनेभन्दा बिक्री गर्ने बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए।

सुनको मूल्य उच्च भएपछि पसलमा पुरानो सुन बिक्री गर्नेको घुइँचो लाग्दै आएको छ भने बैंकले ल्याएको नयाँ बिक्री हुन छाडेको छ।

अवैध रुपमा आउने सुन र पुराना गहना बिक्रीले बजारको माग धानिरहेको छ। अत्याधिक मूल्य बृद्धि भएका कारण बैंकले ल्याएको सुन भने बिक्री भएका छैनन्।

सुन महँगो भएका बेला पुराना हार, नेकलेस, चुरालगायत सुनका गरगहना बिक्री गर्ने धेरै हुन्छन्। भाउ बढेदेखि नै सुन बिक्री गर्नेको चाप पर्ने व्यवसायी बताउँछन्। त्यसैगरी, मूल्य घट्दा सुन किन्ने बढ्छन्।

सुनको मूल्य बढ्दै जाने हो भने बजारले धान्नै नसक्ने गरी बिक्रेता बढ्ने व्यवसायी बताउँछन्। किन्ने र बेच्नेको सन्तुलन हुनुपर्ने उनीहरूको भनाइ छ। दुई पक्षबीच सन्तुलन भएन भने बजारमा असन्तुलन हुने व्यवसायी बताउँछन्।

लगानीका लागि निश्चित बजेट हुने भएकाले ग्राहकले ल्याएजति सुन किन्न सक्ने अवस्था नरहेको व्यवसायी बताउँछन्। खरिदमात्र गर्ने तर बेच्न पाइएन भने व्यवसायीलाई समस्या पर्छ। माग र बिक्री दुवै बराबर भएको अवस्थामा खासै फरक पर्दैन।

व्यवसायीलाई ग्राहकले ल्याएको सुन किन्नैपर्छ भन्ने बाध्यता हुँदैन। व्यवसायीले ग्राहकसँगको सम्बन्ध र आवश्यकताअनुसार सुन किन्ने गर्छन्।

सुनको मुल्य अझै बढने हो भने असहज परिस्थिति आउने व्यवसायीको भनाइ छ। यस्तो अवस्थामा बैंकको भूमिका पनि ठूलो हुने व्यवसायीको तर्क छ। केही समयअघि व्यवसायीले नेपाल राष्ट्र बैंकलाई बेच्नेमात्र होइन, सुन किन्ने नीति बनाउन सुझाव दिएका थिए।

पुरानो सुन बिक्री बढेपछि बैंकले ल्याउने सुनको ढिक्का बिक्री हुन छाडेको छ। तीजको सिजन सकिएको र विवाह, दशै, तिहारजस्ता चाडपर्व आउन अझै केही समय लाग्ने भएकाले पनि सुन बिक्री हुन अझै समय लाग्ने व्यवसायी बताउँछन्। त्यस्तै भारतमा बिक्री हुने सुनमा कमी आएका कारणले पनि स्टक रहेको उनको भनाइ छ।

सुनको मूल्य बढ्दा बिक्रीमा कमी आउने र मूल्य घटदा बिक्री बढी हुने गरेको छ। विश्व बजारमा शक्तिशाली राष्ट्रबीचको व्यापारिक तनावले स्थानीय बजारमा सुनको भाउ हालसम्मकै उच्चविन्दुमा पुगेको हो। विश्व बजारमा नै सुनको मूल्य बढेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १ हजार ४ सय डलर पुगेको छ। सुनमा गरिएको लगानीलाई सबैभन्दा सुरक्षित मानिने गर्छ। त्यसैले पनि सेयर र डलर खरिद गर्न छाडेर सुन खरिद गर्न थालिएकाले भाउ बढेको हो।

नोट : यो समाचार हामीले नेपाल न्यूज डटकमबाट लिएका हौं । 

प्रकाशित भएको : September 10th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु