खुल्यो मलेसिया रोजगारी, अब शून्य लागतमा मलेसिया ! लेभि पनि छुट


 

२६ भदौ, काठमाडौं । नेपाल र मलेसियाबीच गत कात्तिक १२ मा भएको श्रम समझदारी कार्यान्वयन गर्ने सहमति भएको छ । योसँगै अब १५ महिनाबाट रोकिएको मलेसियामा नयाँ कामदार जाने प्रक्रिया सुरु हुने छ ।

दुई देशबीच तत्काल नेपाल सरकारले सूचीकृत गरेका १२२ मध्ये ३६ मेडिकललाई कामदारको मान्यता दिने सहमति भएको नेपाल टोलीको नेतृत्वकर्ता श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले बताए । आगामी नोभेम्बर पहिलो साताबाटै मलेसियाले बाँकी ८६ वटा मेडिकलको अनुगमन थाल्ने भएको छ ।

यसबारे नागरिक दैनिकले तयार पारेको भिडियो रिपोर्ट हेर्नुहोस्

यो सहमति भएसँगै अब म्यानपावर कम्पनीले विदेशबाट कामदारको मागपत्र ल्याउन पाउने छन् भने व्यक्तिगत श्रम स्वीकृति लिएर पनि मलेसिया जान बाटो खुलेको छ ।

एक रुपैयाँ पनि तिर्नुपर्दैन !

अनलाईनखबर डटकम लेख्छ  मलेसिया जाँदा भिसा प्रक्रियामा लाग्ने शुल्कको भार पनि कामदारमाथि पर्ने छैन । सेवा शुल्क, आतेजाते हवाइ टिकट, स्वास्थ्य परीक्षण, सुरक्षा जाँच, भिसा शुल्क, लगायतबाट पनि कामदार मुक्त हुनेछन् ।

अब मलेसियाले कामदार लैजाँदा मेडिकल बायोमेट्रिक, सेक्युरेटी क्लियरेन्स, भीएलएन, वान स्पट सेन्टर लगायतका नाममा कामदारबाट रकम लिन पाइने छैन । यसअघि यस्ता शुल्कका नाममा कामदारबाट २७ हजारसम्म असुलिन्थ्यो । यसकै विरुद्ध श्रममन्त्री गोकर्ण बिष्टले एक्सन लिँदै मलेसियामा कामदार पठाउन रोकेपछि श्रम समझदारीको वातावरण बनेको थियो ।

नेपाली कामदार जान थालेको १७ वर्षपछि मलेसियासँग भएको एमओयूमा नेपालबाट मलेसिया कामदार लैजाँदा सबै खर्च रोजगारदाताले बेहोर्ने भन्ने स्पष्ट किटान गरिएको छ । कामदार भर्तिदेखि भिसा प्रक्रियासम्मका सबै खर्च रोजगारदाताले बेहोर्ने भएपछि कामदारले एक रुपैयाँ पनि आफ्नो खल्तीबाट हाल्नु नपर्ने मन्त्रालयको दावी छ ।

मेडिकल, सेक्युरिटी क्लियरेन्स र म्यानपावरको सेवा शुल्क रोजगारदाताले कामदारलाई पहिलो महिनाको तलब दिँदा नै ‘रिफन्ड’ गर्ने समझदारीपत्रमा उल्लेख छ । यस्ता प्रक्रियामा खर्च भएको पैसा पनि कामदारकै खातामा फर्किनेछ ।

साथै अब मलेसियामा नेपाली कामदारले लेभी तिर्नुपर्दैन । समझदारी अनुसार हरेक महिनाको ७ गतेसम्म बैंक खातामा तलब खस्नेछ । आफ्नो पासपोर्ट कामदारसँगै रहनेछ, कम्पनीले कब्जामा लिन पाउने छैन ।

प्रकाशित भएको : September 12th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु