पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासहित डेढ सय व्यक्तिका पदक खारेज


 

काठमाडौं – विभूषित व्यक्ति सम्पर्कमै नआएपछि सरकारले करिब डेढ सय जनालाई प्रधान गरेको मानपदवी (तक्मा) रद्द गर्ने भएको छ । पछिल्लो ९ वर्षमा प्रदान गरिएका १४२ पदक गृहमै बेवारिस छन् ।

सिफारिस व्यक्तिलाई मानपदवी ग्रहण गर्न पटकपटक आग्रह गरिएपनि बेवास्ता गरेको गृह मन्त्रालयले जानकारी दिएको छ ।

‘विभूषण सिफारिस कार्यविधि एवं प्रदानसम्बन्धी मापदण्ड-२०७५’ अनुसार मानपदवी प्रदान गरिएको १ वर्षभित्र सम्बन्धित व्यक्तिले नलिएमा स्वतः रद्द हुन्छ ।

मापदण्डअनुसार गृहले फिर्तासम्बन्धी निर्णय लिए पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला (मरणोपरान्त)सहित १४२ जनाकै पदक खोसिनेछ ।

सरकारले संविधान दिवसको अवसर पारेर शुक्रवार ६३४ जनालाई मनपदवीमा सिफारिस गरेको छ । ती व्यक्तिलाई २०७७ वैशाख १ गते राष्ट्रपति विद्यादेवी भण्डारीले विभूषित गर्नेछिन । गत वर्ष ३४२ जनालाई मानपदवी प्रदान गरिएको थियो ।

वरिष्ठ संगीतकार अम्बर गुरुङलाई २०७५ मा दिइएको सुकीर्तिमय राष्ट्रदीप (मरणोपरान्त) उनका परिवारले बुझेका छैनन् । सर्वोच्च अदालतका पूर्वन्यायाधीश रामकुमारप्रसाद साह र पूर्वन्यायाधीश ताहिरअली अन्सारी र पूर्वराजदूत ज्ञानचन्द्र आचार्यले पनि सुकीर्तिमय राष्ट्रदीप ग्रहण गरेका छैनन् । निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त नीलकण्ठ उप्रेती, नेपाल प्रहरीका पूर्वआईजीपी रमेशचन्द ठकुरी, वरिष्ठ अधिवक्ता शम्भु थापा, पण्डित दीनबन्धु पोखरेल, स्वामी आनन्द अरुणलगायत ३५ जनाले सुप्रबल जनसेवा श्री पदक बुझेका छैनन् । पूर्वआईजीपी चन्द सुडान घोटाला काण्डमा सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि अहिले सदरखोल डिल्लीबजारमा कैद भुक्तानका क्रममा छन् ।

नेपाल स्काउटका पूर्वप्रमुख श्रीराम लामिछाने, पत्रकार शिव गाउँले, हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, लेखक झलक सुवेदी, विश्वसाइकल यात्री पुष्कर शाहलगायतले सुप्रबल तथा प्रबल जनसेवा श्री पदक लिन अस्वीकार गरेका छन् । क्रिकेट खेलाडी पारस खड्काले कीर्तिमय राष्ट्रदीप पदक लिएका छैनन् । हास्यकलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरे, अन्तर्राष्ट्रिय धाविका मीरा राई, वरिष्ठ हास्यकलाकार किरण केसी, क्रिकेटर सन्दीप लामिछाने, लोकगायक पशुपति शर्माले पनि प्रबल जनसेवा श्री पदक अस्वीकार गरेका छन् । पौडी खेलाडी गौरिका सिंहले पनि जनसेवा श्री पदक बुझेकी छैनन् । राउटे मुखिया ऐनबहादुर शाहीलाई २०७१ मा प्रदान गरिएको जनसेवा श्री पनि गृहमै छ ।

०६७ देखि ०७५ सम्म राष्ट्र गौरव १, महाउज्ज्वल राष्ट्रदीप ६, उज्ज्वल कीर्तिमय राष्ट्रदीप र सुकीर्तिमय राष्ट्रदीप ४/४, सुप्रबल जनसेवा श्री ३५, कीर्तिमय राष्ट्रदीप १, प्रबल जनसेवा श्री ७३ र जनसेवा श्री १८ गरी १ सय ४२ पदक सम्बन्धित व्यक्ति तथा उनीहरूका परिवारले ग्रहण नगरेको गृह मन्त्रालयले जानकारी दिएको छ ।

राजनीतिक, सामाजिक सेवा, आर्थिक, शान्तिसुरक्षा र प्रशासन, शिक्षा र स्वास्थ्य, सूचना/सञ्चार–विज्ञान–प्रविधि अन्वेषण एवं अनुसन्धान, भाषा–कला साहित्य र संस्कृति, खेलकुद र राष्ट्रिय जीवनका अन्य महत्त्वपूर्ण क्षेत्र गरी ९ वटा क्षेत्रगत समूहमा पदक छनोट हुने व्यवस्था छ । यसबाहेक सार्वजनिक सेवामा रहेका निकायका लागि भने कर्मचारी संख्या र सुरक्षा निकायलाई पदकमा कोटा निर्धारणको व्यवस्था गरिएको छ । यसअनुसार सेनालाई २५, प्रहरीलाई २०, सशस्त्र प्रहरीलाई १२ र राष्ट्रिय अनुसन्धान विभागलाई ४ जनाको मानपदवी कोटा निर्धारण गरिएको छ । अन्य सरकारी तथा सार्वजनिक सेवामा रहेकाको हकमा भने ३ सयसम्म कर्मचारी भएको निकायलाई एउटा पदक, ५ सयसम्मलाई २, १ हजारसम्मलाई ३ र ५ हजारसम्म कर्मचारी भएका सरकारी संस्थालाई ४ वटा पदक दिन सकिने प्रावधान छ ।

प्रकाशित भएको : September 22nd, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु