आज नवरात्रिको चौथो दिन: देवी कुष्माण्डा पूजा आराधना गरे निरोगी तथा दिर्घायु हुने


 

आइतबार आश्विन शुक्ल प्रतिपदाबाट शुरु भएको नेपालीको महान् चाड बडादसैँको बुधबार चौथो दिन हो । यस दिन कुष्माण्डा देवीको पूजा आराधना गरि धुमधामका साथ मनाइन्छ। बडा दसैँमा पहिलो दिन आइतबार घरघरमा घटस्थापना गरी दियो, कलश र गणेश स्थापना गरेर वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गरेको स्थानमा दुर्गा देवीका तीनवटा रुपहरु महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आजा गरि मनाइयो।

नवरात्रको चौथो दिन माता दुर्गाको चौथो शक्तिको स्वरूप कुष्माण्डाको पूजाआजा गरिन्छ। हिन्दु धर्मशास्त्रमा आफ्नो मन्द मुस्कानद्वारा अण्ड यानी ब्रह्माण्डको उत्पत्ति भएको कारण उनलाई कुष्माण्डा भनेर चिनिएको हो भनि हिन्दु धर्मशास्त्रमा उल्लेख छ। जब यस ब्रह्माण्ड केहि थिएन तव देवीले आफ्नो हास्य मुद्रासहित यस ब्रह्माण्ड रचना गरेको कारण उनलाई सृष्टिको आदिशक्ति पनि भनेर चिनिन्छ। हिन्दु धर्मशास्त्रमा देवी कुश्माण्डालाई कमण्डलु, धनुष बाण, कमलको फुल, अमृतपूर्णकलश, चक्र, गदा एवं जप माला बोक्ने देवी भनेर चित्रण गरिएको छ।

देवी कुष्माण्डाको उपसानाले समस्त रोग आदि निवारण हुने साथै यिनको श्रद्दापुर्वक भक्ति गर्दा श्रद्दालुहरुको आयु, यश, बल र आरोग्यको वृद्धि हुने मान्यता छ। यदि भक्तजनले चोखो हृदयले देवीको आराधना गरे देवी प्रसन्न भइ सुख, समृद्धि र उन्नतिका आशिर्वाद दिने मान्यता छ।

बडादशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । आइतबारदेखि नै मुलुकभरका शक्तिपीठहरुमा भक्तजन र दर्शनार्थीको भीड लागेको छ । यस्तै काठमाडौं उपत्यकाको मैतीदेवी, दक्षिणकाली, गुह्येश्वरी, कालीकास्थान, शोभाभगवती, तलेजुभवानी, नक्साल भगवती, विजेश्वरी, भद्रकाली र इन्द्रायणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा दर्शनार्थीहरू बढेका हुन् ।

यस्तै उपत्यका बाहिर ताप्लेजुङको पाथीभारा, भोजपुरको सिद्धकाली, धरानको दन्तकाली, सप्तरीको छिन्नमस्ता र षखडा, मकवानपुरको चुरेमाई, गोरखाको मनकामना, पोखराको विन्ध्यावासिनीसहितका मन्दिरमा पनि भक्तालुहरूको घुईंचो लागेको छ । यस वर्ष विजयादशमीको उत्तम साइत यही असोज २१ गते मंगलबार १०ः३५ मा रहेको नेपाल पचाङ्ग निर्णायक समितिले जनाएको छ ।

अन्तिम पटक अपडेट गरिएको : May 1st, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु