संसदमा टाँसियो सभामुखको राजीनामाको सूचना


 

१५ असोज, काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएको सूचना संसद सचिवालयमा टाँसिएको छ ।

उपसभामुखको निर्देशनअनुसार प्रतिनिधिसभा नियमावलीको नियम २११ को उपनियम २ अनुसार सूचना टाँसिएको सचिवालयका सचिव भरतराज गौतमले बताएका छन् ।

महराले मंगलबार उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा दिएका थिए । उनले राजीनामा पत्रमा ‘छानबिन नहुँदासम्मका लागि’ राजीनामा दिएको उल्लेख गरेका थिए । तर संसद सचिवालयको सूचनामा यसबारे केही उल्लेख छैन ।

यो सूचनासँग सभामुखको पद रिक्त भएको छ र नयाँ निर्वाचनका लागि बाटो खुलेको छ ।

जबकी महराको निजी सचिवालयले छानविन प्रक्रिया पूरा भइसकेपछि उनी पुनः जिम्मेवारीमा र्फकने दाबी गरेका थिए ।

यस्तो छ सचिवालयमा टासिएको सूचना

सम्माननीय सभामुख श्री कृष्ण बहादुर महराले मिति २०७६ साल असोज १४ गते “हिजोदेखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानविनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि राजीनामा दिएको छु” भनी प्रतिनिधि सभाको सभामुख पदबाट राजीनामा दिनुभएकोले माननीय उपसभामुखज्यूको आदेशअनुसार प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २११ को उपनियम (२) बमोजिम यो सूचना प्रकाशित गरिएको छ ।

डा भरतराज गौतम
सचिवालय सचिव

अन्तिम पटक अपडेट गरिएको : February 17th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु