आज र भोली राजधानीमा लगभग सवारी ठप्प


 

काठमाडौ। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चीनका राष्ट्रपति सी जिनपिङ दुई दिने राजकीय भ्रमणका लागि शनिबार नेपाल आउँदैछन् । सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपाल भ्रमण गरेको २३ वर्षपछि चिनियाँ राष्ट्र प्रमुखबाट हुन लागेको हो ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने नेपाल भ्रमणको समयतालिका सार्वजनिक भएको छ । आज शनिबार अपराह्न ४ः३० बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गर्ने राष्ट्रपति सी विमानस्थलमा अवतरण गरेपछि सोल्टी होटेल जानेछन् । जहाँ उनलाई राख्ने प्रबन्ध मिलाईएको छ । त्यसपछि चिनियाँ राष्ट्रपतिले नेपाली राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट्ने कार्यक्रम तय भएको छ । सी र भण्डारी आज साँझ ६:३० शितल निवासमा भेटघाट गर्नेछन् ।

यसपछि साँझ ७:१५ मा सीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्नेछन् भने यसपछि सी को सम्मान र स्वागतमा राष्ट्रपति भण्डारीले साँझ ७:३० मा सोल्टी होटलमा रात्रिभोज दिने कार्यक्रम रहेको छ ।

सी आउँदा विमानस्थल साढे २ घण्टा बन्द हुनेछ । शनिबार दिउँसो २:५५ देखि ५:२५ सम्मका लागि सबै व्यवासायिक उडान स्थगन गरिने भएको छ।

त्यसैगरी दोस्रो दिन सीले भोली आइतबार बिहान १०:३० बजे सीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नेछन्। दिउसो ११:३० मा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता हुनेछ । यो भेटवार्तामा द्वीपक्षीय सम्झौता हुने बताईएको छ ।

आइतबारै दिउँसो १ बजे सी चीन फर्कनेछन् । उनी चीन फर्कने समयमा पनि विमानस्थल बन्द रहनेछ ।

भोली आईतबार बिहान ११ :२० देखि १:५० सम्म विमानस्थल बन्द हुनेछ ।
आज विहान सवारी साधन चले पनि दिउसोदेखि भोली सी स्वदेश फर्किने बेलासम्म सवारी आवागमन ठप्प प्राय हुने ट्राफिक प्रहरीले जनाएको छ ।

भारतको चेन्नई विमानस्थलमा पनि भारतले नोटाम जारी गरिसकेको छ । त्यहा पनि दुई घण्टा उडान बन्द हुनेछ । अन्तर्राष्ट्रिय मान्यता अनुसार नेपालले पनि नोटाम जारी गरेको हो । जसका कारण दर्जनौं अन्तर्राष्ट्रिय उडान डिले हुने भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार, राष्ट्रपति सी शनिबार भारतको तमिलनाडुस्थित चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई बजे उडान भरेर सोझै काठमाडौं आइपुग्नु हुनेछ ।

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले शनिबार र आइतबार हुने उडानबारे शुक्रबार बिहान नोटाम (नोटिस टू एयरमेन) जारी हुने बताउनु भयो । नोटाम उड्डयनकर्मीका लागि जारी गरिने सूचना हो । विमानस्थलले नोटाम जारी गरेपछि वायुसेवा कम्पनीहरूले आफ्ना उडान भीभीआईपीको जहाज आउने र जाने समयअघि वा पछि सार्नुपर्छ ।

चिनियाँ राष्ट्रपति सी दुइटा जेट विमान बोइङ ७४७–८ मा काठमाडौं आउन लागेको जानकारी नागरिक उड्डयन प्राधिकरणले दिएको छ । शनिबार आइपुग्ने ती दुई विमान आइतबारमात्रै चीन फर्कने छन् ।

काठमाडौं विमानस्थलमा एक पटकमा नौवटा मात्रै जेट विमान एप्रोनको पार्किङमा राख्न सकिन्छ । चिनियाँ राष्ट्रपतिका दुइटा जेट विमानले ६ वटा जहाजको पार्किङ क्षेत्र ओगट्ने भएपछि दुई दिनमा दर्जनौं अन्तर्राष्ट्रिय उडानको तालिका धकेलिने भएको हो ।

चिनियाँ राष्ट्रपतिको उडानका कारण अन्तर्राष्ट्रिय उडान प्रभावित हुने भएपछि विमानस्थल व्यवस्थापनले शनिबार र आइतबार दुई दिन चौबिसै घण्टा विमानस्थल खुला राख्ने निर्णय गरेको छ । सी काठमाडौंस्थित् सोल्टी क्राउन प्लाजामा बस्नेछन् । उनका लागि उक्त होटल पुरै रिजर्भ गरिएको छ।

सीका लागि बस्ने व्यवस्था मिलाइएको उक्त होटल पूरै रिजर्भ भएको होटलका एक उच्च व्यवस्थापकले जानकारी दिए। २८२ वटा कोठा भएको होटलमा चिनियाँ राष्ट्रपतिसँग आउने प्रतिनिधिमण्डल मात्र बस्ने स्रोतको दाबी छ । आजैदेखि उक्त होटल रिजर्भ भएको छ । कतिसम्म भने उक्त होटलमा पास होल्डरबाहेक अरुलाई प्रवेश निषेध गरिएको छ ।

प्रकाशित भएको : October 12th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु