आहा ! जाने हैन त घुम्न बन्दीपुर ! हेर्नुहोस केही मनमोहक तस्विरहरु


 

कृष्ण न्यौपाने । दमौली :

मौसम शुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल शुरु भएको छ । चिसो बढेसँगै बन्दीपुरमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल शुरु भएको हो ।

असोजदेखि मङ्सिरसम्म बन्दीपुरमा विदेशी पर्यटकको चाप रहने बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष एवं आन्तरिक भ्रमण वर्ष जिल्लास्तरीय उपसमितिका सदस्य वैश गुरुङले जानकारी द‍िए । भदौसम्म विदेशी पर्यटक नआउने बन्दीपुरमा असोज मध्यदेखि भने दैनिक तीन÷चार सय पर्यटकको आगमन भइरहेको गुरुङले बताए । “भदौसम्म स्वदेशी पर्यटकको मात्रै चहलपहल हुन्छ, असोजदेखि भने विदेशी पर्यटक राम्रै सङ्ख्यामा बन्दीपुर आउँछन्”, गुरुङले भने ।

गुरुङका अनुसार चाडपर्वका कारण घुम्ने संस्कृतिको विकास भएकाले स्वदेशी पर्यटकको चाप पनि उल्लेखनीय रहेको छ । “दशैँ, तिहारलगायत सार्वजनिक बिदाका कारण बन्दीपुरमा यतिबेला दैनिक ५०० भन्दा बढी स्वदेशी पर्यटक आइरहेका छन्,” गुरुङले भन्नुभयो । बन्दीपुर घुम्न आएकामध्ये अधिकांश पर्यटकले बन्दीपुरमा बास बस्ने गरेका छन् । बन्दीपुरमा वनभोजका लागिसमेत विभिन्न जिल्लाबाट विद्यार्थीहरु आउने गरेका छन् ।

बन्दीपुरमा ग्रिनपार्क, फेवा, गामघर, वोल्डइन, बन्दीपुर माउन्टेन रिसोर्ट, बन्दिपुर प्यालेस, मगर भिलेजलगायत साना ठूला गरी ५७ होटल तथा २२ वटा होमस्टे सञ्चालनमा छ । ती सबै होटलमा एकै पटक एक हजार ३०० देखि एक हजार ४०० पर्यटकले रात बिताउन सक्नेछन् । बन्दीपुरका होटलमा करीब १५० भन्दा बढीले रोजगारी पाएका छन् ।

घुम्न आउने पर्यटकलाई यहाँका पर्यटकीय एवं ऐतिहासिक स्थलका बारेमा जानकारी दिने गरिएको छ । यहाँ ढुङ्गाले छापेको बाटोबाट सवारीसाधन जान निषेध गरिएको र पुराना घर भएकाले पनि विदेशी आकर्षित हुने गरेका छन् ।

बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे«, धौलागिरि लगायतका हिमशृङ्खला देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, बिन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थलमा यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ ।

उत्कृष्ट गन्तव्यका रुपमा विकास हुँदै
Bandipur, Nepal

कोलाहल, धुवाँधुलोबाट केही टाढा घुम्न जाने सोच बनाएकालाई बन्दीपुर उत्कृष्ट गन्तव्यका रुपमा विकास भइरहेको छ । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि लगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ ।

सुन्दर हिमशृङ्खलाको अवलोकनका साथै सूर्यास्तको दृश्य हेर्न र स्थानीय नेवारी कला संस्कृतिसँग रम्न पाइने भएका कारण पर्यटकको रोजाइमा बन्दीपुर पर्ने गरेको व्यवसायी राजु बानियाँ बताउँछन् । बानियाँका अनुसार यहाँ आउने पर्यटक यहाँको हावापानी, संस्कृति, रीतिरिवाज देखेर एकदमै आकर्षित हुने गरेका छन् । “दुई-तीन दिन मात्रै बस्ने गरेर आएका पर्यटक पनि यहाँ आइसकेपछि थप केही दिन नबसी फर्किंदैनन्”, उनले भने ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा भन्छन् यहाँ रहेका परम्परागत घरका कारण पर्यटनमा टेवा मिलेको छ । कुराकानीकै क्रममा उनी अगाडी थप्छन् “काठका बुट्टा कुँदिएका झ्याल तथा ढोका, इँट्टाबाहिर देखिने प्यागोडा शैलीका घर यहाँको मुख्य आकर्षणका रुपमा रहेका छन् । १८औँ शताब्दीमा भक्तपुर र बनेपाबाट आएका नेवारहरुले भक्तपुरे शैलीमा घर र ढुङ्गा बिछ्याइएको बाटो निर्माण गरेका थिए । बन्दीपुरमा अहिले पनि घर निर्माणमा मौलिकता अपनाउने गरिएको छ । बन्दीपुर बजारमा भएका पुरानो घरहरुको आकर्षणले गर्दा पर्यटकको आगमन बढ्दै गएकाले गाउँपालिकाले बजार क्षेत्रभित्र आधुनिक र पश्चिमेली शैली झल्किने गरी घर बनाउने निषेध गरेको छ ।

बन्दीपुरको प्राचीन कला तथा संस्कृति झल्किने घरको कारणले नै आज बन्दीपुर विश्वभर प्रख्यात भएको छ, बन्दीपुरको मौलिकता जोगाउन आधुनिक घर निर्माणमा रोक लागेको छ । गत वर्ष एक लाख पचास हजारभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटकले बन्दीपुरको भ्रमण गरेका थिए । बन्दीपुरमा अमेरिका, थाइल्यान्ड, चीन, भारत, कोरिया र युरोपियन मुलुकका विदेशी पर्यटक बढी आउने गरेका छन् ।

Bandipur, Nepal

थप तस्विरहरु हेर्नुहोस्


भिजिट नेपाल २०२० मा धेरैभन्दा धेरै आन्तिरक वा वाह्य पर्यटकहरु भित्र्याउनको लागि तपाइले पनि १ शेयर गरेर आफ्नो ठाउँबाट योगदान दिन सक्नुहुन्छ ।

अन्तिम पटक अपडेट गरिएको : November 3rd, 2019,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु